तरकारीको भाउ उपत्यकामा दुई दिनमै ४६ प्रतिशतसम्म घट्यो, कति छ मूल्य?

बिजमाण्डू
२०८३ कात्तिक १० गते १४:५६ | Oct 27, 2026
तरकारीको भाउ उपत्यकामा दुई दिनमै ४६ प्रतिशतसम्म घट्यो, कति छ मूल्य?


काठमाडौं। उपत्यकामा हरिया तरकारीको भाउ सस्तिएको छ। दसैंका बेला आपूर्ति कम भएको कारण देखाएर व्यापारीले भाउ बढाएकामा अहिले आपूर्ति बढेसँगै अधिकांश तरकारी सस्तिएको हो।

GBIME
Tata

गाजर, बन्दा, लोकल काउली, भन्टा, घिउ सिमी, तिते करेला, रायो साग, बरेला, परवर, हरियो फर्सी, काँक्रो लगायतको भाउ दुई दिनयता केजीमा ४६ प्रतिशतसम्म घटेको छ।

कालीमाटी थोक बजारमा गोलभेडाको भाउ प्रति केजी ६५ रुपैयाँ आइपुगेको छ। सुकेको प्याजको मूल्य पनि प्रति केजी ८७ रुपैयाँमा झरेको छ।

प्रति केजी गाजरको मूल्य ११०, बन्दा ३८, काउली ४५, रायो साग ४०, तिते करेला ७५ र मटरकोसा १३० रुपैयाँमा झरेको कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ। दुई दिनअघि मटरकोसाको भाउ प्रति केजी २२५ रुपैयाँ थियो।

समितिका सूचना अधिकारी विदुरप्रसाद आचार्यले बजारमा आपूर्तिको तुलनामा माग कम रहेकाले तरकारीको भाउ सस्तो भएको बताए। ‘दसैं मनाउन गाउँघर गएका उपभोक्ता फर्किनसकेकाले होला तरकारीको माग कम छ। तर, आपूर्ति बढिरहेको छ। त्यसैले अधिकांश तरकारीको भाउ घटिरहेको हो,’ उनले भने।