एनपीएलमा ११ सय प्रहरी परिचालन, मैदानदेखि खेलाडी राखिएका होटेलसम्म २४सै घण्टा सुरक्षा

बिजमाण्डू
२०८३ कात्तिक ९ गते १२:५५ | Oct 26, 2026
एनपीएलमा ११ सय प्रहरी परिचालन, मैदानदेखि खेलाडी राखिएका होटेलसम्म २४सै घण्टा सुरक्षा


काठमाडौं। नेपाल प्रिमियम लिग (एनपीएल) खेललाई सुरक्षित बनाउन प्रहरीले चौबिसै घण्टा ग्राउन्डदेखि खेलाडीहरूको सुरक्षा प्रदान गर्ने भएको छ। विश्व चर्चित खेलाडीको आगमनसँगै अघिल्ला लिगभन्दा बढी प्रहरी खटाइएको हो।

GBIME
Tata

जिल्ला प्रहरी परिसर काठमाडौंले मात्र दैनिक १ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने भएको छ। लिगको उद्घाटनको पहिलो दिन भने १ हजार १२५ सुरक्षाकर्मी परिचालन गरिने छ।

त्यस्तै, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)बाट पनि सादा पोसाकमा प्रहरी खटिने छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेको समन्वय गर्ने छन्। त्यस्तै, फिल्डको अपरेसन, अनुगमन र सुभरभिजनमा भने एसपी दानबहादुर थापालाई खटाइएको छ।

यसैगरी, दैनिक फिल्ड इन्चार्जमा भने डीएसपी कौशल बुढाथोकी खटिने छन्। काठमाडौंभित्र रहेका १४ वटा वृतबाट डीएसपी सहितको टोली खटिने छ।

‘सुरक्षालाई ध्यान दिएर यसपटक रणनीति तयार भएको छ। सुरक्षाको कारण गलत सन्देश जाने विषयमा हामी सजक छौं,’ परिसरका एसपी थापाले भने।

प्रहरीले खेल मैदान, खेलाडीहरू बस्ने होटेल, आवतजावत गर्दा हुने सडकसम्मको सुरक्षा रणनीति बनाएको छ। त्यस्तै, दर्शकहरूको सुरक्षा र व्यवहारलाई पनि निगरानी गर्ने छ।

सादा पोसाकमा रहेका सुरक्षाकर्मीले खेल अवधिमा हुने आर्थिक गतिविधिलाई जोडेर पनि निगरानी गर्ने छन्। खेलको क्रममा विभिन्न पक्ष विपक्षलाई होच्याउने, आरोप लगाउने लगायतका गतिविधि नगर्न पनि प्रहरीले अनुरोध गरेको छ।

प्रहरीले तालिम प्राप्त कुकुर, ड्रोन, सीसीटीभी क्यामरा लगायतको प्रयोग गर्ने छ। टीयूमा दैनिक १२ हजारसम्म दर्शक उपस्थित हुने अपेक्षा गरिएको छ। टिकट बिक्रीभन्दा बढीलाई खेल मैदान वरपर नजान समेत प्रहरीले अनुरोध गरेको छ।

‘टिकट बाहेक अरु मानिस नआउन अनुरोध गर्छौं। त्यस्तै कानुनले वर्जित गरेका आर्थिक कारोबारहरू नगर्नुहोला,’ एसपी थापाले भने।