काठमाडौं। ग्लोबल आइएमई बैंकले ‘ग्लोबल फाइनान्स’को ‘बेष्ट बैंक अवार्ड २०२६’ हात पारेको छ। योसँगै बैंक लगातार तेस्रो वर्ष उक्त अवार्डबाट सम्मानित भएको छ।
बैंकले सन् २०२४ र २०२५ मा पनि ‘बेष्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको थियो। लगातार ३ वर्ष यो सम्मान प्राप्त गर्नुलाई बैंकको वित्तीय क्षमता, विश्वसनीयता र उत्कृष्ट सेवाको अन्तर्राष्ट्रिय मान्यताका रूपमा हेरिएको छ।
थाइल्याण्डको राजधानी बैंककमा आयोजित विशेष समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुमन पोखरेल र दीपचन्द्र रेग्मीलाई अवार्ड हस्तान्तरण गरेका थिए।
ग्लोबल फाइनान्सले विभिन्न आधारमा मूल्याङ्कन गरी बैंकलाई यो सम्मान प्रदान गरेको जनाएको छ। वित्तीय स्रोत परिचालन, संस्थागत विश्वसनीयता र भौगोलिक पहुँच विस्तारलाई मूल्याङ्कनको प्रमुख आधार बनाइएको थियो।
डिजिटल सेवा विस्तार, रणनीतिक व्यावसायिक साझेदारी र ग्राहककेन्द्रित नवप्रवर्तनलाई पनि महत्त्व दिइएको थियो। त्यसैगरी, आधुनिक प्रविधि र एआईको प्रयोग, दिगो कर्जा प्रवाह तथा प्रभावकारी जोखिम व्यवस्थापनलाई समेत मूल्याङ्कनमा समेटिएको थियो।
अवार्ड समारोहमा एसिया-प्रशान्त क्षेत्रसहित विश्वका विभिन्न देशका प्रमुख वित्तीय संस्थाहरू पनि सम्मानित भएका थिए। हङकङको बैंक अफ चाइना, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको आइसीबीसी, मलेसियाको यूओबी मलेसिया, बङ्गलादेशको सिटी बैंक र जापानको एमयूएफजी बैंक लगायत संस्थाले विभिन्न विधामा सम्मान प्राप्त गरेका थिए।
लगातार तेस्रो पटक प्राप्त यो सम्मानले बैंकलाई थप जिम्मेवार र उत्कृष्ट सेवा प्रदान गर्न प्रेरित गरेको जनाएको छ। बैंकले आधुनिक प्रविधि र ग्राहक सेवाका क्षेत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्दै आएको छ।
बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’ र सन् २०१६ मा ‘बेष्ट इन्टरनेट बैंक’ को उपाधि पाएको थियो। त्यसपछि सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेष्ट बैंक नेपाल’ घोषित भएको छ।
यसका अतिरिक्त बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स सन् २०२२, २०२४ र २०२५ मा प्राप्त गरेको छ। सन् २०२४ मा ‘बेष्ट बैंक ईएसजी नेपाल’ को सम्मान पनि पाएको छ।









