एनपीएलले काठमाडौंका पाँच तारे होटल खचाखच, अन्तर्राष्ट्रियस्तरमा विश्व चर्चित खेलाडीबाट ब्राण्डिङ

मुकुन्द घिमिरे
२०८३ कात्तिक ९ गते १२:४६ | Oct 26, 2026
एनपीएलले काठमाडौंका पाँच तारे होटल खचाखच, अन्तर्राष्ट्रियस्तरमा विश्व चर्चित खेलाडीबाट ब्राण्डिङ


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका कारण होटलहरुको व्यापार चम्किएको छ। एनपीएलमा प्रतिस्पर्धा गर्ने ८ वटै फ्रेन्चाइज टिमले विदेशी खेलाडीसहित आफ्नो पूरै टिमलाई तारे होटलमा राखेका छन्।

GBIME
Tata

चर्चित केही खेलाडीलाई पाँच तारे होटलको सबैभन्दा महँगो अर्थात एक रातकै तीन लाख रुपैयाँभन्दा बढी पर्ने स्वीट रुममा राखिएको छ।

आफ्नो टोलीका सदस्यलाई विराटनगर किंग्सले हायत सेन्ट्रिक, जनकपुर बोल्ट्सले र्‍याडिसन, चितवन राइनोजले दुसित प्रिन्सेस, सुदूरपश्चिम रोयल्सले रोयल टुलिप, लुम्बिनी लायन्सले भिभान्ता, काठमाडौं गोर्खाजले क्राउन इम्पेरियल, कर्णाली याक्सले बेस्ट वेस्टर्न काठमाडौं र पोखरा एभेन्जर्सले गोदावरीस्थित बेस्ट वेस्टर्न प्लसमा राखेका छन्।

डेभिड मिलर, डेभिड वार्नर, शाकिब अल हसन, मोइन खान, सिकन्दर राजा, आन्द्रे रसल, चरिथ असलंक, शेरफेन रदरफोर्ड, निरोसन डिकवेला लगायत विश्व चर्चित खेलाडीलाई अनुबन्ध गरेका फ्रेन्चाइजको टोली प्रतियोगिताभर तारे होटलमै रहनेछ। क्रिकेटका अफिसियलहरुलाई सोल्टी होटलमा राखिएको छ।

सोल्टी होटलका प्रमुख कार्यकारी अधिकृत सुदर्शन चापागाइँका अनुसार होटलको व्यापार एनपीएल अवधिभर मात्र चम्किने छैन, प्रतियोगिताले नेपालको पर्यटन प्रवर्धनमा पनि सहयोग पुग्नेछ।

‘फ्रेन्चाइजीले विश्व क्रिकेटका हस्तीहरु भित्र्याएका कारण उनीहरुमार्फत नेपालको पर्यटन प्रवर्धनमा टेवा पुग्नेछ,’ उनले बिजमाण्डूसँग भने, ‘यो हाम्रो लागि ठूलो अवसर पनि हो।’ उनका अनुसार विश्व चर्चित खेलाडीले नेपालका बारेमा विभिन्न फोरमहरुमा कुराकानी गर्दा समेत नेपालको ब्राण्डिङ हुनेछ।

‘अहिले नेपालमा विश्वका उत्कृष्ट खेलाडीहरु आएका छन्। उनीहरुले सामाजिक सञ्जालमा नेपालका बारेमा फोटो भिडियो राख्नेछन्। सँगै स्पोर्ट्स च्यानलहरुमा नेपालको प्रत्यक्ष प्रसारण हुनेछ,’ चापागाइँले भने, ‘हामीले करोडौं खर्च गर्दा पनि नपाइने प्रचार एनपीएलमार्फत हुन्छ। यसले हाम्रो पर्यटन अर्थतन्त्रमा ठूलो प्रभाव राख्छ।’

लुम्बिनी लायन्सका संचालक ईश्वर जिसीले पनि क्रिकेटमार्फत नेपालको पर्यटन क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउन सहयोग पुग्ने बताए।

‘अहिलेसम्म हामीले नेपाललाई सगरमाथाले चिनायौं, लुम्बिनीले चिनायौं, धार्मिक रूपमा चिनायौं, एकदमै सुन्दर देशका रूपमा चिनायौं। सगरमाथा त हाम्रो शिर नै भइहाल्यो,’ साविक विजेता लुम्बिनी लायन्सका सञ्चालक जिसी भन्छन्, ‘तर अब त्यति मात्र होइन, नेपाललाई क्रिकेटले पनि चिनाउनुपर्छ। स्पोर्ट्स टुरिजम यति ठूलो हो कि त्यसले स्पोर्ट्स टुरिस्ट मात्र होइन, अरू क्षेत्रका टुरिस्टलाई पनि साथै बोकेर ल्याउँछ।’ होटलको व्यापारका अलावा एनपीएलमा धेरै कर्पोरेट हाउस जोडिएका छन्।

पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले एनपीएलका फ्रेन्चाइजीले एउटा होटलमा मात्रै झण्डै एक करोडको कारोबार गर्ने जानकारी दिए। ‘एउटा फ्रेन्चाइजी भएको होटलमा ७० देखि ९० लाख सीधा व्यापार हुन्छ। अझ मिट एण्ड ग्रिट हुँदा कारोबार बढ्छ,’ उनले भने, ‘यो एनपीएलका खेलाडी बसेर भएको कारोबार हो। यसबाहेक खेलाडीले गर्ने ब्राण्डिङ ठूलो छ।’

उनका अनुसार बंगलादेशका क्रिकेटर शाकिब अल हसनसँगै बंगलादेशी पत्रकारहरु पनि आएका छन्। ‘शाकिबसँगै पत्रकारहरु आएर यहाँको रिपोर्टिङ गरिरहेका छन्। उनी आउनेबित्तिकै नेपालको ब्राण्डिङ भइरहेको छ,’ त्रिपाठीले भने, ‘हामीले खेलाडीलाई हाइकिङमा लैजाने समेत योजना बनाएका छौं। त्यहाँ गएको फोटो र भिडियो अपलोड हुँदा हाम्रो पर्यटन प्रवर्धन हुनेछ।’

पोखराले आफ्ना टिमका खेलाडीलाई पोखरा लैजाने समेत योजना बनाएको छ।

‘एनपीएलका कारण अल्पकालीनदेखि दीर्घकालीनसम्म फाइदा छ। विस्तारै चर्चित खेलाडीको खेल हेर्न विश्वका मानिस पनि यहाँ आउन सक्छन्,’ उनले भने, ‘उदाहरणकै लागि आइपीएलदेखि विश्वकप हेर्नजस्तै हाइप क्रियट हुँदै जाँदा नेपालमा पनि त्यसरी मान्छे आउन सक्छन्। त्यस्तै यहाँ आएका विदेशी समय थपेर बस्न सक्छन्। त्यसले खर्च पनि बढाउँछ।’

एनपीएलको दोस्रो संस्करणको फाइनल खेलेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स मैदानमा उत्रिएसँगै तेस्रो संस्करणको एनपीएल सोमबार सुरु हुँदैछ।

१५० करोडको कारोबार

यसअघिका दुई संस्करणमा लोकप्रियतासँगै आर्थिक रुपमा फड्को मारेको एनपीएल तेस्रो संस्करणमा आइपुग्दा १५० करोडको क्लबमा उक्लिएको छ। एनपीएलमार्फत नेपालमा पहिलो पटक डिसिजन रिभ्यु सिस्टम (डीआरएस) प्रविधिको प्रयोग गर्न लागिएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले यसपालिको एनपीएलमा १५० करोडको कारोबार हुने बताएको छ। ‘स्पोन्सरबाट मात्रै क्यानले २० करोड रुपैयाँ उठाउने छ। टिकेटिङ र टिकेटिङ पाटर्नर सबै गरेर ७० देखि ७५ करोड रुपैयाँ उठ्नेछ। त्यही हाराहारीमा एनपीएलका क्लबले कारोबार गर्नेछन्। एक महिनामा डेढ अर्बको कारोबार हुनेछ,’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने।

टिकट सोल्डआउट

लिग चरणको खेलको टिकट मूल्य साधारणतर्फ ५०० र प्रिमियमतर्फ १ हजार रुपैयाँ तोकिएको छ। इलिमिनेटर र फाइनलका लागि भने यो शूल्क १ हजार र २ हजार तोकिएको छ। उद्‍घाटन खेलको टिकट सोल्डआउट भइसकेको क्यानले जनाएको छ।

ब्रेक इभनमा पुग्ने

एनपीएलका क्लबले एग्रेसिभ रुपमा विदेशी खेलाडी अनुबन्ध गरेर लगभग टिमको टुंगो लगाइसकेका छन्। क्लबहरुको दाबीलाई मान्ने हो भने उनीहरुको प्राथमिकता ब्रेक इभनमा पुग्ने भन्दा पनि ब्राण्ड बनाउनेमा छ।

‘हाम्रो अप्रोच ब्रेकइभनमा पुग्नेभन्दा माथि छ। त्यही भएर हामीले खेलाडीमा ठूलो लगानी गरिरहेका छौँ,’ काठमाडौं गोर्खाजमा अनुभव सिरोहियाले भने, ‘अहिले ग्रोथ भइरहेको छ। यो पैसाको कुरा होइन, हामीले के दिन सक्छौं भन्ने हो।’

अन्य टोलीका सञ्चालक पनि ब्राण्ड बनाउनमा ध्यान केन्द्रित गरेको बताउँछन्। यसपालि ब्रेक इभनसम्म पुग्नसक्नेमा उनीहरु आशावादी छन्।

‘एनपीएलले सोचेभन्दा राम्रो वृद्धि गरेको छ। यही कारण हामी यसपालि ब्रेक इभनको नजिक पुग्छौँ भन्ने अपेक्षा छ। कतिपय टिम ब्रेक इभनमा निश्चित रूपमा पुग्छन्, त्यो हामीले देखिरहेका छौँ। अर्को वर्ष त आठमा आठै ब्रेक इभनमा पुग्लान् भन्ने लाग्छ,’ पोखरा एभेन्जर्सका सञ्चालक सुवोध त्रिपाठी भन्छन्।

एनपीएलले तेस्रो संस्करण आइपुग्दा केही उपलब्धि हात पारेको छ। व्यवस्थापनमा कमजोरीका बीच क्यानले आयोजना गरेको नेपाल टी-२० लिगका कारण अन्तर्राष्ट्रियस्तरमा नेपाली फ्रेन्चाइजको साख बिग्रिएको थियो। त्यो लिग दोस्रोपटक भएन।

तैपनि त्यसको प्रभावस्वरुप एनपीएलका यसअघिका दुई संस्करणमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले क्यानलाई निकै कस्यो। सीमित संख्यामा मात्र टेस्ट राष्ट्रका सक्रिय खेलाडीले एनपीएल खेल्न पाए। यसपालि आईसीसीले सीमा हटाइदियो जसका कारण क्लबहरुले चाहेका विदेशी खेलाडी भित्र्याउन पाएका छन्।

पाकिस्तानी खेलाडीले पाएनन् अनुमति

विश्वकपका साथै आईपीएलजस्ता ठूला लिग खेलेका टेस्ट राष्ट्रका प्रभावशाली खेलाडी यसपालि नेपाल आएका छन्। एनपीएलका केही फ्रेन्चाइजले पाकिस्तानका खेलाडी अनुबन्ध गरेकामा त्यहाँको बोर्डले एनओसी दिएको छैन।

‘खेलाडीले लिग खेल्न अनुमति आफ्नो देशको बोर्डबाटै लिने हो। बोर्डले पर्मिसन नदिएको खण्डमा हामीले खेलाउन सक्दैनौं,’ क्यानका सचिव पारस खड्काले भने, ‘तैपनि सम्बन्धित देशका क्रिकेट बोर्डका पदाधिकारीसँग समन्वय गरिरहेका छौँ। सायद यसको समाधान हुन्छ।’

यसपालिको एनपीएलमा मौसमले चुनौती दिने देखिएको छ। मौसमविदहरुले बिहीबारबाट नेपालमा वर्षा हुन सक्ने पूर्वानुमान गरेका छन्।