फोन आउँदा स्क्रिनमा नम्बरसँगै कलरको नाम देखिनु अनिवार्य, भारतमा नोभेम्बर १ देखि लागू हुँदै

बिजमाण्डू
२०८३ असोज २९ गते १५:१६ | Oct 15, 2026
फोन आउँदा स्क्रिनमा नम्बरसँगै कलरको नाम देखिनु अनिवार्य, भारतमा नोभेम्बर १ देखि लागू हुँदै
Gemini AI generated image


भारतमा नोभेम्बर १ देखि टेलिकम अपरेटरहरुलाई नयाँ नियम लागू भएको छ। जसमा फोन आउँदा स्क्रिनमै कल गर्नेको सक्कली नाम देखाउनुपर्ने भएको छ।

GBIME
Tata

भारतको दूरसंचार विभागले टेलिकम अपरेटरहरूलाई यही नोभेम्बर १ देखि देशैभर ‘कलिङ नेम प्रेजेन्टेसन’ (सीएनएपी) सेवा अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो।

यो नियम लागू भएपछि अब मोबाइलमा फोन आउँदा स्क्रिनमा नम्बर मात्रै होइन, फोन गर्ने व्यक्तिको नाम पनि स्पष्ट रूपमा देखा पर्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन। 

यो सेवा सबै ४जी र ५जी मोबाइल नेटवर्कहरूमा स्वतः लागू हुनेछ। प्रयोगकर्ताहरूले यसलाई अलगबाट सक्रिय गरिरहनुपर्ने छैन। 

यदि फोन गर्ने व्यक्ति कन्ट्याक्ट लिस्टमा भए सेभ गरेको नाम देखिनेछ। यदि नम्बर सेभ छैन भने सिम कार्ड लिँदा ‘केवाइसी’मा जो व्यक्तिको नाम दर्ता गराइएको थियो, सोही आधिकारिक नाम स्क्रिनमा देखा पर्नेछ।

कल विदेशबाट (इन्टरनेसनल नम्बरबाट) आएको हो भने कसैको नाम देखिने छैन। स्क्रिनमा ‘इन्टरनेसनल कल’ देखिनेछ।

कल काट्नेबित्तिकै टेलिकम कम्पनीहरूको प्रणालीले त्यो नाम आफ्नो ‘मेमोरी’बाट तुरुन्तै हटाउन व्यवस्था गर्नुपर्नेछ। यसले प्रयोगकर्ताको डेटा पूर्ण रूपमा सुरक्षित रहने विश्वास भारतीय विभागको छ।

गोपनीयताका लागि कल लाइन आइडेन्टिफिकेसन रेस्ट्रिक्सन सुविधा लिएकाहरूको नाम भने स्क्रीनमा देखिने छैन।

यो नियम आएपछि स्पाम कलहरू, साइबर ठगी, ब्ल्याकमेलिङ र नक्कली नामबाट लिइएका सिममार्फत हुने ठगीका घटनाहरूमा कमी विश्वास लिइएको छ।

यो नियम लागू भएसँगै प्रयोगकर्ताहरू ‘ट्रुकलर’ जस्ता थर्डपार्टी एपहरू राखिरहनु पर्ने छैन

कम्पनी वा कर्पोरेट सिम प्रयोग गर्नेहरूले आफ्नो ट्रेडमार्क वा जीएसटी पोर्टलमा दर्ता भएको आधिकारिक व्यापारिक नाम स्क्रीनमा देखाउन सक्ने व्यवस्था गरिएको भारतीय संचारमाध्यमा उल्लेख छ।

हाल यो नियम ४जी र ५ जी वा सोभन्दा माथिल्लो जेनेरेसनका नेटवर्कहरूमा मात्र लागू हुने भनिएको छ। २जी, ३जी र ल्यान्डलाइनमा यो लागू गर्नेबारे हालसम्म कुनै निर्णय नभएको जनाइएको छ।

 नोभेम्बरबाट लागू हुने भएकोले अरु कसैको नाममा भएको सिम चलाइराखेकाहरुलाई सो सिम आफ्नो नाममा ल्याउन टेलिकम अपरेटरहरुलाई सम्पर्क गर्न पनि आग्रह गरिएको छ।