काठमाडौं। कुनै समय थोरै सेयर भएका कमजोर कम्पनीको मूल्य उचालेरै बजारमा रौनक ल्याउने प्रवृत्ति पछिल्लो समय कमजोर बनेको छ। बजारको दिशा नै बदल्ने गरी लो क्याप कम्पनीमा हुने अस्वाभाविक मूल्यवृद्धि घट्दै जाँदा लगानीकर्ता पनि सेयरको मूल्य पछ्याउन छाडेर कम्पनीको वित्तीय अवस्था, नाफा र प्रतिफल हेर्न थालेका छन्।
पछिल्लो कारोबार प्रवृत्तिले लगानीकर्ताले कम्पनीको सेयर मूल्य मात्रै होइन, त्यसको आधारभूत वित्तीय अवस्था, नाफा कमाउने क्षमता र भविष्यको प्रतिफलसमेत हेर्न थालेको संकेत गरेको छ। बजार विश्लेषक अनलराज भट्टराई यसलाई सेयर बजार परिपक्वतातर्फ अघि बढिरहेको संकेतका रूपमा व्याख्या गर्छन्।
‘लगानीकर्ताले मार्केटमा फ्युचर प्रोफिटेबिलिटी पनि हेर्न खोजिरहेका छन्। भविष्यमा हुने नाफालाई हेर्ने प्रवृत्ति अहिले बढेको देखिन्छ। कम्पनीको नाफाबाट मात्रै नभएर ऋणपत्रबाट पनि प्रतिफल आयो। यही कारण केही बैंकले लगानीकर्तालाई प्रतिफल वितरण गरे,’ भट्टराईले भने, ‘यसले लगानीकर्तामा कम्पनीको फन्डामेन्टल पनि हेर्नुपर्छ भन्ने परेको हुनुपर्छ। अहिले ट्रेडिङ आवरमा हेर्नुभयो भने राम्रा कम्पनीमा अधिकांशमा बाइङ प्रेसर देखिन्छ। बजारमा राम्रा स्टकलाई साझा रूपमा लिन थालिएको छ। एक-दुईवटा सूचनाले मूल्यमा फरक पर्नु स्वाभाविकै हो। तर, बजार परिपक्वतातिर गइरहेको छ।’
विगतमा सेयर बजारमा कम्पनीको वित्तीय अवस्था र व्यावसायिक सम्भावनाभन्दा कम सेयर संख्या भएका कम्पनीको मूल्यमा हुने उतारचढावले बढी चर्चा पाउने गरेको थियो। बजारमा थोरै कित्ता सेयर उपलब्ध भएका कम्पनीमा खरिदको चाप सिर्जना गरेर मूल्य उचाल्ने र त्यसैका आधारमा बजारमा उत्साह बढाउने प्रवृत्ति देखिन्थ्यो। कमजोर वित्तीय अवस्था भएका कम्पनीको मूल्यसमेत अस्वाभाविक रूपमा बढ्दा लगानीकर्ताले कम्पनीको वास्तविक अवस्था र बजार मूल्यबीचको अन्तरलाई बेवास्ता गर्ने गरेका थिए।
२०८० असारको तेस्रो साता कांग्रेस र एमालेबीच सत्ता साझेदारी भएपछि सेयर बजार डेढ महिनामै ४६ प्रतिशतले उकालो लागेको थियो। त्यसबेला बजार वृद्धिसँगै लो क्याप कम्पनीको सेयर मूल्यमा पनि अस्वाभाविक वृद्धि देखिएको थियो। वित्तीय अवस्था कमजोर रहेको नेपाल फाइनान्सको सेयर मूल्य प्रतिकित्ता २ हजार ७०० रुपैयाँसम्म पुगेको थियो। अहिले भने यसको सेयर मूल्य प्रतिकित्ता ४७८ रुपैयाँमा झरेको छ।
नेपाल फाइनान्समा मात्रै यस्तो प्रवृत्ति सीमित थिएन। बजारमा थोरै सेयर भएका विकास बैंक तथा अन्य कम्पनीको मूल्य पनि अस्वाभाविक रूपमा बढ्ने गरेको थियो। कम्पनीको वित्तीय अवस्था कमजोर भए पनि सेयर आपूर्ति न्यून भएका कारण मूल्यमा तीव्र वृद्धि हुने र त्यसले थप लगानीकर्तालाई आकर्षित गर्ने प्रवृत्ति देखिन्थ्यो।
२०८१ मंसिरमा नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दा समेत कर्णाली डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो। बैंकको वित्तीय अवस्था र नियामकीय कारबाहीको गम्भीरतालाई समेत बेवास्ता गर्दै सेयर मूल्य बढेको यो घटना बजारमा मूल्य र कम्पनीको वास्तविक अवस्थाबीचको सम्बन्ध कमजोर रहेको उदाहरणका रूपमा देखिएको थियो। राष्ट्र बैंकले बैंकको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएपछि यसको सेयर कारोबार १५ महिनादेखि रोक्का छ। बैंकका सेयरधनीको करिब २ अर्ब रुपैयाँ लगानी कारोबार रोकिएकै अवस्थामा छ।
बजारले उच्च अंक छोएका अन्य अवधिमा पनि यस्तै प्रवृत्ति देखिएको थियो। २०८१ साउन ३१ गते नेप्से परिसूचक ३ हजार अंकमा पुग्दा फाइनान्स, विकास बैंक र थोरै सेयर भएका जलविद्युत् कम्पनीको मूल्यमा अस्वाभाविक वृद्धि भएको थियो। त्यसैगरी, २०८२ साउनमा नेप्से परिसूचक ३ हजार २ अंकको उचाइमा पुग्दा पनि न्यून सेयर संख्या भएका कम्पनीको मूल्य उचालिएको थियो। बजारमा कम्पनीको आधारभूत अवस्था कमजोर भए पनि मूल्य बढ्ने क्रमले तीव्रता पाउँदा लगानीकर्ताको ध्यान कम्पनीको वित्तीय सूचकभन्दा मूल्यको गतितर्फ केन्द्रित हुने गरेको थियो।
विशेषगरी वित्तीय सूचक कमजोर भएका फाइनान्स कम्पनी र विकास बैंकको मूल्य समूह बनाएर उचाल्ने प्रवृत्ति देखिएको बजारका जानकारहरू बताउँछन्। तर, पछिल्लो समय यस्ता कम्पनीको मूल्यमा पहिलेको जस्तो तीव्र वृद्धि देखिएको छैन। मूल्यमा कृत्रिम चाप सिर्जना गरेर कारोबार गराउने प्रवृत्ति कमजोर हुँदै जाँदा लगानीकर्ताले प्रतिफल दिन सक्ने कम्पनी खोज्न थालेको स्टक ब्रोकर एसोसिएसनका उपाध्यक्ष नितेशकुमार अग्रवाल बताउँछन्।
‘बजारमा लो क्याप कम्पनी एक राउन्ड चले। तर, लगानीकर्तालाई पछि गएर यसले काम लागेन भन्ने भयो। बजार घट्दा लो क्याप कम्पनी नै सबैभन्दा धेरै घटे। लगानीकर्ताले अहिले यो कुरा बुझेको देखिन्छ,’ अग्रवालले भने, ‘अहिले लाभांशको सिजन पनि हो। त्यसैले लो क्याप स्टक चलाउनुभन्दा लगानीकर्ताहरू प्रतिफलतिर गएको देखिन्छ।’
उनको भनाइमा, विगतमा मूल्य तीव्र रूपमा बढेका कम्पनीमा बजार घट्न थालेपछि ठूलो गिरावट आउने गरेको अनुभवले पनि लगानीकर्ताको व्यवहार परिवर्तन गर्न भूमिका खेलेको छ। मूल्य बढेको अवस्थामा छोटो अवधिमा नाफा कमाउने उद्देश्यले प्रवेश गरेका लगानीकर्ता बजारको दिशा बदलिँदा जोखिममा पर्ने गरेका छन्। त्यसैले अहिले कम्पनीको सेयर मूल्य बढ्ने सम्भावनासँगै त्यसले दिने प्रतिफल र वित्तीय आधारलाई समेत ध्यान दिन थालिएको उनको विश्लेषण छ।
फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनपछि चैत दोस्रो सातासम्म नेप्से परिसूचक लगातार बढेर २ हजार ९८० अंकसम्म पुगेको थियो। त्यसपछि बजारमा गिरावट आएर अहिले परिसूचक २ हजार ५०० अंकको आसपास घुमिरहेको छ। बजारले उच्च अंकबाट उल्लेख्य दूरी तय गरिसक्दा पनि यसबीच लो क्याप कम्पनीको मूल्यमा अस्वाभाविक सकारात्मक सर्किट लाग्ने प्रवृत्ति भने पहिलेको तुलनामा न्यून देखिएको छ। बजारको समग्र दिशा र कम्पनीको मूल्यबीचको सम्बन्धमा आएको यो परिवर्तनलाई लगानीकर्ताको कारोबार व्यवहारमा आएको बदलावका रूपमा हेरिएको छ।
मर्चेन्ट बैंकरहरू पनि कमजोर वित्तीय अवस्था भएका कम्पनीको मूल्य कृत्रिम रूपमा उचाल्ने प्रवृत्ति कमजोर भएको बताउँछन्। उनीहरूका अनुसार आधारभूत वित्तीय सूचकले समर्थन नगरेको मूल्यलाई लामो समयसम्म टिकाइराख्न कठिन हुन्छ। छोटो अवधिमा मूल्य बढाउने उद्देश्यले कारोबार गर्ने लगानीकर्ताले आफ्नो सेयर बिक्री गरेपछि मूल्य टिकाउन थप खरिद आवश्यक पर्छ। तर, कम्पनीको वित्तीय अवस्था र व्यावसायिक प्रदर्शनमा सुधार नआए त्यस्तो मूल्यलाई निरन्तरता दिन सकिँदैन।
‘पहिला जथाभावी चलाइएका कम्पनी अहिले माथि जान गाह्रो भयो। फन्डामेन्टल्ली राम्रो नभएका कम्पनी केही समय मात्रै टिकाउन सकिने हो। सधैँ कृत्रिम रूपमा त्यही मूल्य राख्न नसकिने भएपछि चल्न छोडेका हुन्,’ एक मर्चेन्ट बैंकरले भने, ‘कम्पनीको मूल्य बढाउन खोज्ने खेलाडीहरू सर्ट टर्म ट्रेडर हुन्। उनीहरूले लामो समय होल्ड गर्दैनन्। अर्कोतिर कम्पनीको मूल्य मात्रै बढ्ने तर आधारभूत सूचक जस्ताको तस्तै रहने, पर्फर्मेन्स बिग्रँदै जाने भएपछि मूल्य माथि जान नसकेको हो। लगानीकर्ताले पनि यो कुरा बुझे।’
उनका अनुसार कम्पनीको सेयर मूल्यमा वृद्धि हुनु र कम्पनीको व्यावसायिक प्रदर्शनमा सुधार आउनु फरक विषय हुन्। वित्तीय सूचकमा सुधार नआउँदा मूल्यवृद्धिलाई निरन्तरता दिन कठिन हुने भएकाले लगानीकर्ताले पछिल्लो समय कम्पनीको आधारभूत अवस्था हेर्न थालेका छन्। यद्यपि, केही कम्पनीको मूल्यमा हुने अस्वाभाविक उतारचढाव पूर्ण रूपमा रोकिएको निष्कर्षमा पुग्न भने कारोबारको विस्तृत तथ्यांक र कम्पनीगत विश्लेषण आवश्यक हुन्छ।
बजारमा नयाँ कम्पनीको प्रवेश घट्नुले पनि लो क्याप कम्पनीको मूल्य उचालिने प्रवृत्तिमा प्रभाव पारेको छ। यसअघि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सेयर बजारमा प्रवेश गर्ने कम्पनीको सेयर मूल्य सूचीकृत भएपछि लगातार बढ्ने प्रवृत्ति देखिने गरेको थियो। तर, पछिल्लो ६ महिनादेखि सार्वजनिक निष्कासन ठप्प हुँदा नयाँ कम्पनी बजारमा थपिएका छैनन्। यसले नयाँ कम्पनीको सेयर सूचीकृत भएपछि मूल्यमा हुने तीव्र उतारचढावको क्रमलाई समेत सीमित गरेको छ।
यद्यपि, नयाँ कम्पनीको प्रवेश रोकिँदैमा पुराना कम्पनीको मूल्यमा अस्वाभाविक उतारचढाव हुने सम्भावना पूर्ण रूपमा समाप्त हुँदैन। बजारमा उपलब्ध सेयरको संख्या, लगानीकर्ताको खरिदबिक्री व्यवहार, कम्पनीको वित्तीय अवस्था र बजारमा प्रवाहित हुने सूचनाले मूल्यमा प्रभाव पारिरहन्छन्। त्यसैले पछिल्लो परिवर्तनलाई आईपीओ निष्कासन रोकिएको अवस्थासँग मात्रै जोडेर हेर्नुभन्दा लगानीकर्ताको निर्णय प्रक्रियामा आएको बदलावसँगै विश्लेषण गर्नुपर्ने देखिन्छ।
भट्टराई भने नेपाली सेयर बजारले डिजिटल कारोबार प्रणालीको विस्तारसँगै छोटो समयमा ठूलो छलाङ मारिसकेको र अब विस्तारको गति स्वाभाविक रूपमा सुस्त हुन थालेको बताउँछन्। उनका अनुसार डिजिटल प्रणालीले बजारमा प्रवेश गर्न सहज बनाएपछि डिम्याट खाताको संख्या तीव्र रूपमा बढेको थियो। त्यसले नयाँ लगानीकर्ता बजारमा भित्र्याउनुका साथै कारोबारको दायरा विस्तार गर्न सहयोग गरेको थियो। अहिले बजारको विस्तारसँगै लगानीकर्ताको व्यवहार पनि परिवर्तन हुँदै गएको उनको भनाइ छ।
‘पहिला डिजिटल हिसाबले बजार बुस्ट भयो। एकैपटक ६०/७० लाख डिम्याट खाता खोलिए। १०/१५ लाखबाट त्यो तहको जम्प ठूलो हो। यो एउटा तहसम्म पुगेर अहिले स्लो हुन थालेको छ। लगानीको व्यवहार पनि त्यहीअनुसार फेरिएको छ,’ उनले भने।
उनका अनुसार सेयर बजारमा कारोबारको मात्रा र लगानीकर्ताको सहभागिता बढ्नु मात्रै बजार परिपक्व भएको प्रमाण होइन। कम्पनीको वास्तविक वित्तीय अवस्था, नाफा कमाउने क्षमता, लाभांश वितरणको सम्भावना र भविष्यको व्यावसायिक प्रदर्शनका आधारमा लगानी निर्णय गर्ने प्रवृत्ति बलियो हुँदै जानु परिपक्व बजारको महत्त्वपूर्ण पक्ष हो।
पछिल्लो समय लो क्याप कम्पनीको मूल्य उचाल्ने प्रवृत्ति कमजोर देखिनु र लगानीकर्ताले आधारभूत वित्तीय सूचकमा चासो दिन थाल्नुले बजारमा यस्तो परिवर्तनको संकेत गरेको बजार विश्लेषकहरुको बुझाइ छ।










