सोसल मिडियाबाट उदाएका अनुहार, ‘फलोअर’ लाई ‘बिजनेस एसेट’ मा गर्दैछन् यसरी रुपान्तरण

टुना भट्ट
२०८३ कात्तिक ३ गते ०९:५७ | Oct 19, 2026
सोसल मिडियाबाट उदाएका अनुहार, ‘फलोअर’ लाई ‘बिजनेस एसेट’ मा गर्दैछन् यसरी रुपान्तरण


काठमाडौं। टिकटक, युट्युब र फेसबुकमा बनाएको लोकप्रियता अब भ्युज र फलोअरमा मात्रै सीमित छैन। नेपाली युवा क्रिएटरहरू यही डिजिटल पहुँचलाई पछ्यौरा, अचारजस्ता उत्पादनको ब्रान्डदेखि फिटनेस सेन्टर, क्याफे र रिसोर्टसम्मको लगानीमा बदलिरहेका छन्। कुनै समय मनोरञ्जनका लागि बनाइएका भिडियो अहिले ग्राहकसम्म पुग्ने माध्यम, व्यवसायको प्रचार र नयाँ उद्यम खडा गर्ने पुँजी बन्दैछन्।

GBIME
Tata

सामाजिक सञ्जालबाट चर्चामा आएका अनुहारहरू विज्ञापन र ब्रान्ड डिल हुँदै आफ्‌नै व्यवसाय तथा लगानीतर्फ अघि बढिरहेका छन्। पछिल्लो समय नेपालमा डिजिटल प्लेटफर्मबाट क्रिएटरहरूले गर्ने आम्दानी पनि उल्लेख्य आकारमा पुगेको छ।

सन् २०२५–२६ को एक अध्ययनअनुसार नेपाली क्रिएटरहरूले डिजिटल प्लेटफर्मबाट अघिल्लो आर्थिक वर्षमा करिब ३.५३ अर्ब रुपैयाँ आम्दानी गरेका थिए। ब्रान्डहरूले पनि परम्परागत विज्ञापनसँगै इन्फ्‌लुयन्सर मार्केटिङलाई प्राथमिकता दिन थालेका छन्। यही परिवर्तनलाई आफ्‌नै यात्राबाट देखाउने केही नेपाली अनुहार यस्ता छन्।

कविता वाचनबाट पछ्यौरा व्यवसायमा उदाएकी अरुणा

कवितावाचनबाट सामाजिक सञ्जालमा चिनिएकी अरुणा ढकाल अहिले आफ्‌नै पहिचानलाई व्यवसायसँग जोडेर अघि बढिरहेकी छन्। टिकटक र फेसबुकमा साहित्यिक नाम ‘अनुराग’ बाट परिचित अरुणाको पछ्यौरा ओढेर कविता वाचन गर्ने शैली धेरैले रुचाए।

पछ्यौरा ओड्न रुचाउने अरुणालाई ट्रेकिङमा जाँदा पनि ‘पछ्यौरा ओढ्ने दिदी’ भनेर चिन्न थालेपछि यही पहिचानलाई व्यवसायमा बदल्ने सोच पलायो र सुरु गरिन् – पछ्यौरी।

साहित्य, सामाजिक सञ्जाल र सिर्जनशीलतालाई व्यवसायसँग जोडेर अरुणाले आफ्‌नै पहिचानबाट उद्यमको नयाँ बाटो बनाएकी छन्।

गोरखाको फुजेलमा जन्मेहुर्केकी अरुणाको साहित्यप्रति सानैदेखि रुचि थियो। कविता लेख्ने र वाचन गर्ने क्रममा सामाजिक सञ्जालमा बनेको परिचयले उनलाई व्यवसाय सुरु गर्न पनि सहज बनायो। गाउँघरमा नेपाली पहिचानसँग जोडिएको पछ्यौराको प्रयोग विस्तारै घट्दै गएको देखेपछि उनले यसको आकर्षणलाई नयाँ पुस्तामाझ फर्काउने उद्देश्यले ‘पछ्यौरी’ ब्रान्ड सुरु गरिन्।

गत वर्ष मंसिरमा करिब दुई लाख रुपैयाँको लगानीबाट एक्लै सुरु गरेको अनलाइन व्यवसायले एक वर्ष नपुग्दै करिब ५० लाख रुपैयाँको कारोबार गरेको अरुणा बताउँछिन्। नेपाली पस्मिनादेखि काश्मिरी, ऊलन र कटनका पछ्यौरा उनले बिक्री गर्छिन्।

अरुणा आफैं डिजाइन गर्छिन र कारखानासँग सहकार्य गरेर तयार गर्छिन्। नेपालभर र विदेशमा पनि डेलिभरी हुने पछ्यौरा विदेशमा रहेका नेपालीले आफन्तलाई उपहार पठाउन बढी रुचाउने गरेको अरुणा बताउँछिन्। महिला पुरुष दुवैका लागि उपयोगी पछ्यौरा जाडोमा ओढ्न मात्रै होइन, विवाह व्रतवन्धलगायत पूजाआजामा पनि प्रयोग गरिन्छ। अहिले पछ्यौरा युवा पुस्ताको फेसनशैली बन्दै छ।

साहित्य, सामाजिक सञ्जाल र सिर्जनशीलतालाई व्यवसायसँग जोडेर अरुणाले आफ्‌नै पहिचानबाट उद्यमको नयाँ बाटो बनाएकी छन्।

स्मारिका ढकाल : टिकटकबाट फिटनेस सेन्टर हुँदै रेष्टुराँसम्म

स्मारिका ढकाल नेपाली टिकटकबाट उदाएको पुस्ताकी चर्चित अनुहार हुन्। टिकटक र युट्युबमा लोकप्रिय भएपछि उनको परिचय म्युजिक भिडियो र मनोरञ्जन क्षेत्रमा पनि विस्तार भयो। पछिल्लो समय उनी विभिन्न म्युजिक भिडियोमा देखिँदै आएकी छन्। आठ सयभन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी स्मारिका अहिले व्यवसायमा पनि सक्रिय भएकी छन्।

झापाको बुधबारेमा जन्मेहुर्केकी उनको जुम्ल्याहा दिदीबहिनीबाट सुरु भएको सामाजिक सञ्जालको यात्रा अहिले व्यवसायसम्म पुगेको छ। बहिनीको विवाहपछि भने आफू एक्लै कन्टेन्ट क्रियसन र व्यवसायमा सक्रिय रहेको उनी बताउँछिन्। २५ वर्षकै उमेरमा व्यवसायमा होमिएकी स्मारिकाले फिटनेस सेन्टरसँगै क्याफे पनि सञ्चालनमा ल्याएकी छन्।

एक वर्षअघि बौद्धमा सञ्चालनमा आएको ‘एसए डिभाइन डिभा फिटनेस’ विशेषगरी महिलाका लागि लक्षित रहेको स्मारिका बताउँछिन्। बच्चा जन्मिएपछि पनि आमाहरूलाई फिटनेसप्रति आकर्षित गर्न यहाँ विशेष सुविधा दिइएको छ। साना बच्चा हुने आमाहरूले ढुक्क भएर व्यायाम गर्न सकून भनेर बच्चा हेरचाहका लागि छुट्टै स्थान र कर्मचारीको व्यवस्था गरिएको छ।

करिब ८५ लाख रुपैयाँ लगानीमा सञ्चालनमा आएको फिटनेस सेन्टरमा स्मारिकाको आधा र अर्का साझेदारको आधा लगानी छ। व्यवसाय विस्तारकै क्रममा उनले करिब ३५ लाख रुपैयाँ लगानीमा पाँच महिनाअघि क्याफे पनि सञ्चालनमा ल्याएकी छन्।
‘व्यवसायमा राम्रो आम्दानी छ, आफ्‌नै सोसल मिडियाबाट मार्केटिङ गरिरहेकी छु,’ स्मारिका भन्छिन्। आफ्‌नै डिजिटल पहुँचलाई व्यवसायको प्रचारमा प्रयोग गर्दै उनी कन्टेन्ट क्रियसनसँगै उद्यमलाई पनि अघि बढाइरहेकी छन्।

वर्षा बस्नेत : मिडियाबाट कन्टेन्ट क्रियटर हुँदै व्यवसायमा
मिडिया पर्सन तथा फिल्म जर्नलिस्टको पहिचान बनाएकी वर्षा बस्नेत अहिले व्यवसायमा पनि प्रवेश गरेकी छन्। सामाजिक सञ्जालमा कन्टेन्ट क्रियटरका रूपमा स्थापित वर्षाले श्रीमान तथा नेपाली क्रिकेटर करण केसीसँग र अन्य साझेदारसँग मिलेर मुस्ताङको लेतेमा ‘द लेते गाउँ रिसोर्ट’ सञ्चालनमा ल्याएकी हुन्।

रिसोर्टका लागि उनीहरूले सन् २०२४ देखि जग्गा खोज्न थालेका थिए। लेतेको प्राकृतिक वातावरण र पर्यटनको सम्भावनाले आकर्षित गरेपछि त्यहाँ रिसोर्ट निर्माण गर्ने योजना अघि बढाइएको वर्षा बताउँछिन्। यही भदौ ५ गतेदेखि सञ्चालनमा आएको रिसोर्टमा आफूहरूको राम्रो लगानी रहेको उनको भनाइ छ।

लकडाउनबाट सुरु भएको कन्टेन्ट क्रियटसन यात्रा विभिन्न ब्रान्डहरुसँग काम गर्दै जाँदा व्यवसायसम्म पुगेको उनी बताउँछिन्। मिडिया तथा फिल्म पत्रकारितामा सक्रिय उनले लकडाउनका क्रममा सामाजिक सञ्जालमार्फत विभिन्न सामग्री बनाउन थालिन्। विस्तारै दर्शक बढ्दै गएपछि उनी विभिन्न ब्रान्डसँग सहकार्य गर्दै डिजिटल कन्टेन्ट निर्माण र प्रमोसनमा सक्रिय भइन्।

अरू ब्रान्डको प्रमोसन गर्ने क्रममा आफ्‌नै ब्रान्ड तथा व्यवसाय निर्माण गर्न सकिने सम्भावना महसुस भएको उनी बताउँछिन्। यही अनुभव र सोचले उनलाई कन्टेन्ट क्रियसनबाट आफ्‌नै व्यवसाय सुरु गर्ने यात्रातर्फ डोर्‍याएको हो।

इस्टु कार्की : क्याफेमा लगानी
कुनै समय कलाकार बन्ने सपना बोकेर सर्लाहीको हरिपुरबाट काठमाडौं आएकी इस्टु कार्कीको परिचय अहिले कन्टेन्ट क्रिएटरसँगै व्यवसायीका रूपमा पनि थपिएको छ। रंगमञ्चबाट कलाकारिताको यात्रा सुरु गरेकी उनले कोभिड महामारीका बेला घरमै बसेर भिडियो सम्पादन र स्क्रिप्ट लेखन सिकिन्। त्यसपछि आफ्‌नै कन्टेन्ट बनाउन थालेकी उनको पहिलो भिडियोले नै राम्रो प्रतिक्रिया पाएपछि सामाजिक सञ्जाल उनको मुख्य मञ्च बन्यो।

कन्टेन्ट क्रियसनबाट बनेको दर्शक र आम्दानीलाई उनले अहिले व्यवसायमा रूपान्तरण गरेकी छन्। काठमाडौंको अनामनगरमा उनले ‘फ्‌लीप एन्ड इट’ नामको क्याफे सञ्चालनमा ल्याएकी छन्। करिब करिब आधा करोड रुपैयाँ लगानीमा सुरु गरिएको क्याफेमा उनले आफ्‌नै कन्टेन्ट क्रियसनबाट आर्जित रकम लगानी गरेको बताएकी छन्।

इस्टुको व्यवसायिक सोच केवल कफी र खाना बेच्नेमा सीमित छैन। पुस्तक पढ्न चाहने ग्राहकका लागि लाइब्रेरी कर्नरसहितको वातावरण बनाइएको छ। उनी कन्टेन्ट क्रियसनलाई निरन्तरता दिँदै क्याफेलाई विस्तार गर्ने योजनामा छिन्। इस्टुको कथा व्यक्तिगत ब्रान्डलाई व्यवसायमा रूपान्तरण गर्ने पछिल्लो पुस्ताको एउटा उदाहरण हो। उनका लागि फलोअर्स र भ्युज आफैंमा अन्तिम उपलब्धि होइन, तीबाट बनेको विश्वासलाई व्यवसायिक सम्पत्तिमा बदल्ने प्रयास हो।

इस्टुको ‘बिजनेस मोडल’ व्यक्तिगत ब्रान्ड, मनोरञ्जन सामग्री, ब्रान्ड सहकार्य र डिजिटल पहुँचसँग बढी जोडिएको छ। यही कारण उनीजस्ता क्रिएटरहरू ब्रान्डका लागि विज्ञापनको नयाँ माध्यम बन्दै गएका छन्। नेपालमा इन्स्टाग्राम र रिल्समार्फत फेसन, ब्युटी, लाइफस्टाइल र रेस्टुरेन्टजस्ता क्षेत्रमा इन्फ्‌लुयन्सर मार्केटिङको माग बढिरहेको रिपोर्टहरूले देखाएका छन्।

अञ्जना अर्याल : भान्साबाट ब्रान्डसम्म
टिकटकले कसैलाई सेलिब्रिटी बनायो भने कसैलाई आफ्‌नै उत्पादन बेच्ने बजार पनि दियो। अञ्जना अर्यालको कथा यसको उदाहरण हो। घरको भान्साबाट खाना पकाउने भिडियो बनाउँदै टिकटकमा आएकी अर्यालका रेसिपी भिडियोले ठूलो दर्शक पाए। लालमोहनदेखि घरेलु परिकारसम्मका भिडियोमार्फत उनी टिकटकमा परिचित भइन्।

डिजिटल पहिचानपछि ‘घरको स्वाद’ अचार ब्रान्डको उनको व्यावसायिक आधार बन्यो। सामान्य घरेलु गतिविधिबाट सुरु भएको कन्टेन्टलाई उत्पादन र बिक्रीसँग जोड्दै उनले व्यवसाय विस्तार गरिन्। उनको व्यवसायले करिब दुई दर्जन महिलालाई रोजगारीसमेत दिएको छ।

सामाजिक सञ्जालमा उत्पादन देखाउने, आफ्‌नै दैनिक जीवनसँग जोडेर कन्टेन्ट बनाउने र त्यही माध्यमबाट ग्राहकसम्म पुग्ने मोडल उनले अपनाएकी छन्।

अर्यालको व्यावसायिक यात्राको महत्त्वपूर्ण पक्ष भनेको डिजिटल पहुँचलाई प्रत्यक्ष ग्राहकमा बदल्नु। सामाजिक सञ्जालमा उत्पादन देखाउने, आफ्‌नै दैनिक जीवनसँग जोडेर कन्टेन्ट बनाउने र त्यही माध्यमबाट ग्राहकसम्म पुग्ने मोडल उनले अपनाएकी छन्।

यी उदाहरणले नेपालमा इन्फ्‌लुयन्सर अर्थतन्त्र मनोरञ्जन र विज्ञापनको सीमाबाट विस्तार भएर व्यवसाय र लगानीतर्फ अघि बढिरहेको देखाउँछन्। सामाजिक सञ्जालमा बनेको फलोअर, पहुँच र विश्वास अब उत्पादन, सेवा र आफ्‌नै ब्रान्ड निर्माणका लागि प्रयोग हुन थालेका छन्।

तर भ्युज र फलोअर मात्रै व्यवसायिक सफलता होइनन् । तिनलाई ग्राहक, उत्पादन र दीर्घकालीन आम्दानीसँग जोड्न सके मात्र डिजिटल लोकप्रियता वास्तविक व्यवसायिक सम्पत्तिमा रूपान्तरण हुन्छ। स्क्रिनबाट सुरु भएको व्यक्तिगत ब्रान्ड अहिले नेपाली बजारमा लगानी र उद्यमको आधार बन्दै गएको छ।