वाणिज्य बैंकको साढे ९ प्रतिशत कर्जा घर र गाडीमा, ग्लोबल आईएमई अगाडि, अरुको कति?

आकाश बोगटी
२०८३ कात्तिक ७ गते १२:१५ | Oct 24, 2026
वाणिज्य बैंकको साढे ९ प्रतिशत कर्जा घर र गाडीमा, ग्लोबल आईएमई अगाडि, अरुको कति?


काठमाडौं। कर्जा विस्तार सुस्ताएपछि बैंकिङ प्रणालीमा थुप्रिएको तरलता उपयोग गर्न वाणिज्य बैंकहरूले घर र गाडी कर्जामा जोड दिएका छन्। २० वाणिज्य बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को साउन मसान्तसम्म घर र सवारीसाधन खरिदका लागि ५ खर्ब १८ अर्ब ६६ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। यो बैंकहरूको कुल कर्जाको करिब ९.८ प्रतिशत हो।

GBIME
Tata

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूले घर निर्माण तथा खरिदमा ३ खर्ब ७३ अर्ब २ करोड रुपैयाँ र सवारीसाधन खरिदमा १ खर्ब २८ अर्ब ८४ करोड रुपैयाँ लगानी गरेका छन्। कर्जा विस्तारका अन्य क्षेत्र अपेक्षाकृत सुस्त रहेका बेला यी दुई क्षेत्रमा बैंकहरूको लगानी उल्लेख्य देखिएको हो।

पछिल्ला तीन वर्षमा बैंकहरूको औसत कर्जा वृद्धि करिब ६ प्रतिशतमा सीमित हुँदा निक्षेपको वृद्धि १३ देखि १४ प्रतिशतसम्म छ। बैंकिङ प्रणालीमा करिब १६ खर्ब रुपैयाँ लगानीयोग्य रकम थुप्रिएको छ। कर्जाको माग कमजोर र तरलता पर्याप्त भएपछि बैंकहरूले ग्राहक आकर्षित गर्न घर तथा गाडी कर्जामा न्यून ब्याजदरका योजना ल्याइरहेका छन्।

बैंकहरूले यी क्षेत्रमा तुलनात्मक रूपमा कम जोखिम देख्नु पनि लगानी बढ्नुको अर्को कारण हो। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेय घर तथा गाडी कर्जा ग्राहकको आम्दानी र नगद प्रवाहको आधारमा उपलब्ध गराइने भएकाले जोखिम कम हुने बताउँछन्।

‘घर र गाडीमा मानिसहरूको इमोसन जोडिएको हुन्छ। आम्दानीको आधारलाई पनि हेरेर यस्तो कर्जा दिइन्छ,’ उनले भने। उनका अनुसार निष्क्रिय कर्जा बढिरहेको अवस्थामा तुलनात्मक रूपमा कम जोखिम भएका क्षेत्रमा न्यून मार्जिन राखेर व्यवसाय विस्तार गर्ने रणनीति बैंकहरूले अपनाएका छन्।

ग्राहक आकर्षित गर्न बैंकहरूले ब्याजदरमा प्रतिस्पर्धा गरिरहेका छन्। नेपाल बैंकले सवारी कर्जामा ४.५१ प्रतिशत र घर कर्जामा ४.९० प्रतिशत ब्याजदरको योजना ल्याएको छ। राष्ट्रिय वाणिज्य बैंकले पनि ४.९० प्रतिशत ब्याजदरमा घर तथा सवारी कर्जा उपलब्ध गराइरहेको छ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५.७५ प्रतिशत ब्याजदरमा घर कर्जा योजना ल्याएको छ भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले पाँच वर्षसम्म स्थिर रहने ५.७५ प्रतिशत ब्याजदरको योजना अघि सारेको छ। एनआईसी एसिया बैंकले ६.९९ प्रतिशत स्थिर ब्याजदरमा कर्जा उपलब्ध गराउने योजना ल्याएको छ।

बैंकहरूमध्ये घर र गाडी कर्जामा ग्लोबल आईएमई बैंकको लगानी सबैभन्दा धेरै छ। बैंकले साउन मसान्तसम्म यी दुई क्षेत्रमा ६६ अर्ब २२ करोड रुपैयाँ लगानी गरेको छ। त्यसमध्ये घर कर्जामा ४९ अर्ब ९० करोड र सवारी कर्जामा १६ अर्ब ३१ करोड रुपैयाँ प्रवाह भएको छ।

राष्ट्रिय वाणिज्य बैंक ४८ अर्ब ७ करोड रुपैयाँ लगानीसहित दोस्रो स्थानमा छ। नबिल बैंकले घर तथा सवारी कर्जामा ४६ अर्ब ९९ करोड रुपैयाँ लगानी गरेको छ। यसका विपरीत नेपाल एसबीआई बैंकको लगानी सबैभन्दा कम ७ अर्ब ५४ करोड रुपैयाँ छ।

घरजग्गा कर्जाको विस्तारमा नीतिगत व्यवस्थाले पनि सहयोग गरेको छ। नेपाल राष्ट्र बैंकले गत वर्ष पहिलो घर निर्माण वा खरिदका लागि कर्जा मूल्य अनुपातको सीमा ८० प्रतिशतसम्म पुर्‍याएको थियो। एकभन्दा बढी घर भएका ऋणीका हकमा यस्तो सीमा ७० प्रतिशत कायम गरिएको छ। घर कर्जाको अधिकतम सीमा पनि एक करोड रुपैयाँ बढाएर तीन करोड रुपैयाँ पुर्‍याइएको थियो।

तरलता पर्याप्त रहेको अवस्थामा बैंकहरूले न्यून ब्याजदरको सहारा लिएर कर्जा विस्तार गर्न खोजिरहेका छन्। घर र गाडी कर्जामा बढ्दो लगानीले बैंकहरूबीच सुरक्षित मानिएका क्षेत्रमा व्यवसाय बढाउने प्रतिस्पर्धा तीव्र भएको देखाउँछ।

यस्तो छ कर्जा प्रवाहको अवस्था

वाणिज्य बैंककुल कर्जा
(रु. १० लाखमा)
घर कर्जा
(रु. १० लाखमा)
अटो कर्जा
(रु. १० लाखमा)
नेपाल२६२,२२८.३९१३,८३७.६४२,४४२.५९
राष्ट्रिय वाणिज्य३४०,८७७.४५३६,५४६.२८११,५२४.२४
नबिल४९१,१५१.१४३२,४५९.४९१४,५३६.४६
नेपाल इन्भेष्टमेन्ट३६२,७०२.८४९,२०४.५५६,१९१.६१
स्ट्यान्डर्ड चार्टर्ड७१,३७०.३२९,८३८.०८८३६.३८
हिमालयन२५३,०३५.४९५,७६८.९५९,२९२.११
नेपाल एसबिआई१५२,२१९.०४३,४२९.६३४,११३.२५
एभरेष्ट२५२,८९२.५३२६,५४०.०९९,५०८.६७
एनआईसी एसिया२०४,८५१.९३३७,७९३.४७१,३९०.१२
माछापुच्छ्रे१७३,९४२.५३७,३९७.७०४,३२७.४१
कुमारी२९९,२५४.२७११,७०४.५६२,९६१.०६
लक्ष्मी३२६,९९३.४४२१,८७९.२३३,४५७.७८
सिद्धार्थ२४९,०७३.०६२१,३०६.६०४,५६४.६७
कृषि२४४,४२३.२१८,५२७.६७६,९७०.२३
ग्लोबल४८०,६५९.५३४९,९०४.१९१६,३१८.६९
सिटिजन्स१७८,९९०.३६११,९५६.४२४,८८४.७८
प्राइम२४०,८०७.७४१०,५०९.८३६,४३२.३३
एनएमबि२६७,६९७.३६२५,३५०.७६७,०९१.९९
प्रभु२३१,२७६.५२१५,१०६.७६५,४५४.३०
सानिमा२०३,९२२.४८१३,९६०.२४६,५४६.१८
जम्मा५,२८८,३६९.६३३७३,०२२.१४१२८,८४४.८५