शुक्रबार मापसे गरेर सवारी चलाउने थप ५४० जना कारबाहीमा, १३ दिनमा १०३७ जना पुग्यो

बिजमाण्डू
२०८३ कात्तिक ७ गते १९:२४ | Oct 24, 2026
शुक्रबार मापसे गरेर सवारी चलाउने थप ५४० जना कारबाहीमा, १३ दिनमा १०३७ जना पुग्यो


काठमाडौं । दसैंको अवधिमा काठमाडौं उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने एक हजार ३७ जना चालक कारबाहीमा परेका छन्।

GBIME
Tata

मापसे चेकिङका क्रममा शुक्रबार ५४० जना कारबाहीमा परेका हुन्। कात्तिक ६ गतेसम्म १३ दिनको मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ९४७ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको थियो।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि कात्तिक ७ गतेसम्म १४ दिनको अवधिमा भने मादकपदार्थ सेवन (मापसे) गरी सवारी चलाउने एक हजार दुई जना र लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाउने ३५ जना चालकलाई कारबाही गरिएको छ।

कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेका अनुसार मापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका एक हजार दुई जनामध्ये ५९ जना सार्वजनिक सवारीसाधनका चालक रहेका छन्।

त्यस्तै, लापसे गरी सवारी चलाएको अभियोगमा कारबाहीमा परेका ३५ जना नै सार्वजनिक सवारीसाधनका चालक रहेको उनले जानकारी दिए।

चाडपर्वका समयमा यात्रुको आवागमन बढ्ने र सार्वजनिक तथा निजी सवारीसाधनको चापसमेत वृद्धि हुने भएकाले मापसे तथा लापसे गरी सवारी चलाउँदा सडक दुर्घटनाको जोखिम बढ्न सक्ने ट्राफिक प्रहरीको भनाइ छ। यस्ता गतिविधि नियन्त्रण गर्न उपत्यकाका विभिन्न स्थानमा निगरानी तथा चेकजाँचलाई तीव्रता दिइएको कार्यालयले जनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई ध्यानमा राख्दै मादकपदार्थ र लागुपदार्थ सेवन गरी सवारी चलाउने चालकविरुद्धको कारबाहीलाई निरन्तरता दिइएको बताए।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा प्रचलित कानुनी व्यवस्थाअनुसार मापसे र लापसे गरी सवारी चलाउने चालकलाई कारबाही गरिन्छ।

ट्राफिक प्रहरीले चाडपर्वका समयमा सवारी चलाउँदा मादक पदार्थ तथा लागुपदार्थ सेवन नगर्न, ट्राफिक नियमको पालना गर्न र सुरक्षित यात्रालाई प्राथमिकता दिन सबै चालकहरूलाई आग्रह गर्दै आएको छ।