पर्यटकीय गन्तव्यहरुमा लिङ्गे पिङ निर्माण गर्ने पर्यटन बोर्डको योजना, दसैंभरी संचालन हुने

बिजमाण्डू
२०८३ असोज २७ गते ०९:४७ | Oct 13, 2026
पर्यटकीय गन्तव्यहरुमा लिङ्गे पिङ निर्माण गर्ने पर्यटन बोर्डको योजना, दसैंभरी संचालन हुने


काठमाडौं । दसैंको अवसरमा नेपाल पर्यटन बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण तथा संचालन गर्ने भएको छ।

GBIME
Tata

नेपाल पर्यटन बोर्डको पर्यटन सम्पदा तथा पर्यटन विकास महाशाखाले सांस्कृतिक पर्यटन प्रवर्धन गर्ने उद्देश्यले काठमाडौं उपत्यकासहित देशका विभिन्न पर्यटकीय गन्तव्यमा स्थानीय तह तथा पर्यटनसम्बद्ध संघसंस्थासँगको सहकार्यमा लिङ्गे पिङ निर्माण तथा सञ्चालन गर्न लागेको जनाएको हो।

बोर्डले ललितपुर महानगरपालिका, कीर्तिपुर नगरपालिका, चाँगुनारायण नगरपालिका, भक्तपुर पर्यटन विकास समिति, ठमेल पर्यटन विकास समिति, हिमालयन उद्धार संघ, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), होटल संघ नेपाल, होटल व्यवसायी महासंघ तथा विभिन्न प्रदेशका होटल तथा पर्यटन व्यवसायी संघसंस्थासहित पर्यटकीय क्षेत्रका सम्बन्धित निकायसँग सहकार्य गरेर यो अभियान चलाएको हो।

बोर्डले विभिन्न पर्यटकीय गन्तव्यमा लिङ्गे पिङ निर्माण गरेर दसैंको अवधिभर संचालन गर्नेछ। विशेषगरी पर्यटकको आवागमन बढी हुने तथा सांस्कृतिक गतिविधिका लागि उपयुक्त स्थानमा पिङ राखिने व्यवस्था गरिएको जनाइएको छ।

नेपाल पर्यटन बोर्ड र सम्बन्धित स्थानीय तह तथा संस्थाबीच भएको सम्झौतामा पिङ निर्माण तथा संचालन गर्दा आवश्यक सुरक्षा व्यवस्था, भीड व्यवस्थापन र दुर्घटना न्यूनीकरणका उपाय अनिवार्य रूपमा अपनाउनुपर्ने भनिएको छ।

दसैंको कार्यक्रम सम्पन्न भएपछि पिङ हटाई निर्माणस्थललाई पूर्ववत् अवस्थामा फर्काउने जिम्मेवारीसमेत सम्बन्धित पक्षको हुने व्यवस्था गरिएको छ।