केवाइसी अपडेटका नाममा ५० लाख ठगी, नगद र बैंकिङ सामग्रीसहित तीन जना पक्राउ

बिजमाण्डू
२०८३ असोज २७ गते ०६:२० | Oct 13, 2026
केवाइसी अपडेटका नाममा ५० लाख ठगी, नगद र बैंकिङ सामग्रीसहित तीन जना पक्राउ


काठमाडौं। आफूलाई बैंक तथा ईसेवाको कर्मचारी बताएर ग्राहक पहिचान (केवाइसी) अद्यावधिक गर्ने बहानामा सेवाग्राहीबाट करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

GBIME
Tata

रौतहटको गौर-३ पोखरिया टोल र वडा नम्बर ५ कोइरी टोलबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भारतको बिहारको सीतामढी बैरगनिया घर भई गौर-३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहमद साहिल, २२ वर्षीया सलोनीकुमारी सोनी र गौर-५ का १८ वर्षीय नितेश कुशवाहा छन्।

प्रारम्भिक अनुसन्धानअनुसार उनीहरूले विभिन्न बैंक तथा ईसेवाका कर्मचारी भएको भन्दै सेवाग्राहीलाई फोन तथा भिडियो कल गर्ने गरेका थिए। केवाइसी अद्यावधिक गर्नुपर्ने बहाना बनाएर मोबाइलको स्क्रिन सेयर गर्न लगाउने र ओटीपी (एकपटक प्रयोग हुने गोप्य संकेत) लगायत बैंकिङ विवरण प्राप्त गरी खाताबाट रकम अनधिकृत रूपमा स्थानान्तरण गरेर ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

अनुसन्धानमा हालसम्म उनीहरुले केवाइसी अद्यावधिक गर्ने बहानामा ४९ लाख ८७ हजार ३३३ रुपैयाँ ठगी भएको खुलेको छ।

पक्राउ परेकाहरूको साथबाट नेपाली रुपैयाँ १ लाख ६२ हजार २१० र ३ हजार २३६ भारु बरामद भएको छ। त्यस्तै, मोबाइल फोन सात थान, सिमकार्ड ११ थान, विभिन्न बैंक तथा वित्तीय संस्थाका डिपोजिट भौचर ३० थान, एटीएम कार्ड तीन थान र चेक दुई थान बरामद भएका छन्।

बरामद चेकमध्ये प्रभु बैंकको १६ हजार रुपैयाँ र ग्लोबल आईएमई बैंकको २० लाख रुपैयाँको चेक छ। चेकबुक, डायरी, कपी, पेनड्राइभ, मेमोरी कार्ड र बैंकिङ विवरण लेखिएका पर्चालगायत सामग्री पनि भेटिएको छ। गत शुक्रबार पक्राउ परेका तीनै जनामाथि ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।