काठमाडौं। नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीलाई पछ्याउँदै केन्द्रीय समितिको आकार करिब ३०० सदस्यीय पुर्याएको छ। कांग्रेसले केन्द्रीय समिति २९७ सदस्यीय बनाउने गरी पार्टीको विधान संशोधन गरेको छ।
केन्द्रीय समितिको बैठकले २४३ सदस्यीय बनाउने निर्णय गरेकामा १५औं महाधिवेशनअन्तर्गत सोमबारको बन्दसत्रले त्यसमा अझै थपेर २९७ सदस्यीय बनाएको हो। केन्द्रीय समिति यसअघि १६७ सदस्यीय थियो।
प्रवक्ता देवराज चालिसेका अनुसार २९७ सदस्यीय केन्द्रीय समितिमा सभापति र वरिष्ठ उपसभापति एक/एक जना तथा चार जना उपसभापति रहनेछन्। कांग्रेसमा यसअघि उपसभापतिको २ पद थियो।
उपसभापतिमा एक सिट महिलाका लागि आरक्षित गरिएको छ। त्यस्तै महामन्त्रीको संख्या पनि महिलालाई एक सिट आरक्षित गरेर ३ पुर्याएको छ। सहमहामन्त्रीको संख्या ८ बाट १५ पुर्याइएको छ। कोषाध्यक्ष एक जना हुनेछन्। प्रवक्ता र सहप्रवक्ता पनि हुनेछन्।
केन्द्रीय सदस्यमा खुलातर्फ ४५ र महिला खुलामा १५ सिट छुट्याइएको छ। हरेक प्रदेशबाट एक महिलासहित चार जना, उपत्यकाबाट एक महिलासहित दुई जना, दलिततर्फ पाँच महिला र एक मधेसीसहित १४ जना चुनिने व्यवस्था गरिएको छ।
जनजातिबाट ८ महिलासहित २० जना, खस आर्यबाट ८ महिलासहित १८ जना, मधेसीबाट पाँच महिलासहित १३ जना, जनसम्पर्क समितिबाट २ महिलासहित ७ जना र पिछडिएको बर्गबाट ३ जना चुनिने व्यवस्था गरेको चालिसेले जानकारी दिए।
उनका अनुसार थारूबाट २ महिलासहित ६ जना, श्रमिकबाट १ महिलासहित ३ जना, पेशागत विज्ञबाट दुई महिलासहित ७ जना, सातै प्रदेशबाट ३५ वर्ष मुनिका २१ जना, अपाङ्गता भएकाबाट एक जना र प्रजातन्त्र सेनानीबाट तीन जना निर्वाचित हुनेछन्। केन्द्रीय कार्यसमितिले मनोनीत गर्ने सदस्यको संख्या ६६ पुर्याइएको छ।
महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मंगलबार उम्मेदवारी दर्ताको तालिका छ। बन्दसत्रले महामन्त्री प्रदीप पौडेलले पेस गरेको विधान संशोधनको प्रस्ताव पारित गरे पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन पास हुन बाँकी छ। बाँकी प्रतिवेदन मंगलबारको बन्दसत्रबाट पारित गर्ने चालिसेले बताए।











