काठमाडौं। चिनियाँ विद्युतीय सवारीसाधन (इभी) निर्माता कम्पनी लिपमोटरले विश्वव्यापी बजारमा नयाँ कीर्तिमान कायम गरेको छ। कम्पनीले २०२६ को सेप्टेम्बरमा विश्वभर १ लाख ५ हजार ६५६ युनिट सवारीसाधन डेलिभरी गरेको दाबी गरेको छ।
कम्पनीका अनुसार तेस्रो त्रैमासिकमा मात्रै ३ लाख १० हजार ५२ युनिट सवारीसाधन ग्राहकसम्म पुगेका छन्। यससँगै लिपमोटरले लगातार तेस्रो महिना मासिक १ लाखभन्दा बढी युनिट डेलिभरी गर्ने उपलब्धि हासिल गरेको छ।
सेप्टेम्बरको डेलिभरी गत वर्षको सोही अवधिको तुलनामा ५९ प्रतिशतले बढी हो। तेस्रो त्रैमासिकको डेलिभरी पनि वार्षिक आधारमा ७८.३ प्रतिशतले बढेको छ।
कम्पनीले यसलाई आफ्नो तीव्र बजार विस्तार र ग्राहकको बढ्दो विश्वासको संकेतका रूपमा लिएको छ।
सन् २०२६ को पहिलो ९ महिनामा लिपमोटरको कुल विश्वव्यापी डेलिभरी ६ लाख ६६ हजार ५३९ युनिट पुगेको छ। यो संख्या सन् २०२५ को पूरै वर्षमा भएको कुल डेलिभरीभन्दा पनि बढी हो।
लिपमोटरको अन्तर्राष्ट्रिय विस्तारमा स्टेलान्टिससँगको साझेदारी महत्त्वपूर्ण मानिएको छ। ‘लिपमोटर इन्टरनेसनल’मार्फत कम्पनीले विभिन्न अन्तर्राष्ट्रिय बजारमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ।
लिपमोटरले स्मार्ट र नवऊर्जा सवारीसाधनको क्षेत्रमा आफ्नो उपस्थितिलाई थप बलियो बनाउँदै आएको छ। कम्पनीले प्रविधि, सुरक्षा र विद्युतीय गतिशीलतालाई प्राथमिकता दिएको छ।
नेपालमा पनि लिपमोटरको विस्तार जारी छ। साङ्ग्रिला मोटर्स प्रालिले लिपमोटरका विभिन्न विद्युतीय मोडल नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ।
नेपालमा टी०३, बी०३एक्स, बी१० र सी१० जस्ता मोडलमार्फत कम्पनीले आफ्नो उपस्थिति बढाइरहेको छ। यी सवारीसाधनमा स्मार्ट प्रविधि र उच्च कार्यक्षमतामा जोड दिइएको कम्पनीले जनाएको छ।
साङ्ग्रिला मोटर्सले नेपाली चालकलाई आधुनिक इभी प्रविधि उपलब्ध गराउने लक्ष्य लिएको छ। कम्पनीले सुरक्षा र भरपर्दो सेवासँगै दिगो गतिशीलतालाई पनि प्राथमिकता दिएको जनाएको छ।











