काठमाडौं। विद्युतीय सवारीसाधन (इभी)को बिक्री लगातार बढेसँगै अटोमोबाइल बजारमा वर्षौंदेखि स्थापित व्यापारिक घरानाको ‘ब्रान्ड पोर्टफोलियो’ पनि बदलिन थालेको छ।
लामो समयदेखि पेट्रोल तथा डिजल इन्जिन गाडी र मोटरसाइकलको कारोबार गर्दै आएका व्यापारिक समूहले अहिले आफ्नो पुरानो व्यवसायलाई कायमै राख्दै नयाँ विद्युतीय ब्रान्ड थपिरहेका छन्।
केही समूह पुराना ब्रान्डलाई विस्तारै विस्थापित गर्दै नयाँ ब्रान्डमा सिफ्ट भइरहेका छन्। विशेषगरी चिनियाँ कम्पनीका इभी र प्लग-इन हाइब्रिड ब्रान्ड नेपाल भित्र्याउने प्रतिस्पर्धा बढेको छ।
नेपालको अटो बजारमा कुनै समय जापानी, कोरियाली, भारतीय र युरोपेली ब्रान्डको दबदबा थियो। तर, इभीको बजार विस्तारसँगै चिनियाँ ब्रान्डको प्रवेश तीव्र भएको छ। यसले पुराना अधिकृत बिक्रेतालाई पनि आफ्नो ब्रान्ड रणनीति परिवर्तन गर्न बाध्य बनाएको छ।
अधिकांश ठूला घरानाले पुरानो इन्धन गाडीको व्यवसाय छाडेका छैनन्। बरु उनीहरूले समानान्तर रूपमा इभीको पनि व्यापार गरिरहेका छन्। लक्ष्मी ग्रुप, एमएडब्लू ग्रुप, शारडा ग्रुप, गोल्छा समूह, विशाल ग्रुप, सीजी ग्रुपलगायत ठूला घरानाले परम्परागत ब्रान्डसँगै नयाँ इभी ब्रान्ड थपिरहेका छन्।
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक, टाटाको सिप्रदी ट्रेडिङ र सुजुकीको सीजी मोटोकर्पले भने एउटा मात्रै ब्रान्ड होल्ड गरेर आफ्नो बजार हिस्सा बढाइरहेका छन्।
बजारमा एकातर्फ हुन्डाई, मारुती, टाटा, महिन्द्रा, यामाहा, बजाजजस्ता वर्षौंदेखिका स्थापित ब्रान्ड छन् भने अर्कातर्फ बीवाइडी, डिपल, नामी, एमजी, वुलिङ, जेटोर, चेरी, ओमोडा, जेको, लिपमोटर, जीली, किङलङ, हाइगरलगायत नयाँ पुस्ताका इभी ब्रान्ड थपिएका छन्।
यसले नेपालमा अटोमोबाइल व्यवसायको प्रतिस्पर्धा अब केवल कुन ब्रान्डको गाडी राम्रो भन्ने तहमा मात्र सीमित नरहेको देखाउँछ। कुन व्यापारिक घरानाले कुन ब्रान्ड ल्याउँछ र त्यसलाई कति छिटो बजारमा स्थापित गर्छ भन्ने विषय पनि प्रतिस्पर्धाको महत्त्वपूर्ण हिस्सा बनेको छ।
इभीको बिक्री बढ्दै जाँदा आगामी दिनमा पुराना अधिकृत बिक्रेताबीच नयाँ ब्रान्डका लागि हुने प्रतिस्पर्धा अझ तीव्र हुने देखिन्छ। त्यससँगै एउटै घरानाभित्र पेट्रोल-डिजेल, हाइब्रिड र विद्युतीय सवारीको सन्तुलन मिलाउने चुनौती पनि थपिएको छ।
कुन घरानाले कुन-कुन ब्रान्ड बेच्दैछन्?
लक्ष्मी ग्रुप हुन्डाई र बीएमडब्लूबाट चिनियाँ इभीमा केन्द्रित हुँदै गइरहेको छ। यो ग्रुपको मुख्य अटो पहिचान हुन्डाई हो।
लक्ष्मी इन्टरकन्टिनेन्टलले लामो समयदेखि हुन्डाईको आधिकारिक बिक्रेता बनेर नेपालमा बजार विस्तार गर्दै आइरहेको छ। अहिले हुन्डाईका कोना इलेक्ट्रिक, क्रेटा इभी र आयोनिक इभीजस्ता मोडल पोर्टफोलियोमा छन्।

तर, पछिल्लो समय यो ग्रुपले इभी तथा चिनियाँ ब्रान्डलाई पनि प्राथमिकता दिएको छ। अहिले यो समूहसँग हुन्डाई र बीएमडब्लूसँगै इभी र हाइब्रिडमा बीएआईसी, जेटेअर, कायी, आर्कफक्स, फोर्थिङजस्ता ब्रान्ड छन्। लक्ष्मी ग्रुपले हुन्डाईको पुरानो इभी शोरुम रहेको थापाथलीमा जेटेअरको शोरुम निर्माण गरिरहेको छ।
आक्रामक रूपमा नयाँ ब्रान्ड भित्र्याएर बजार विस्तार गरिरहेको अर्को घराना हो- मोरङ अटो वर्क्स (एमएडब्लू) ग्रुप। स्थापित पुराना युरोपियन र एसियन ब्रान्ड ल्याएर जीप, स्कोडा, यामाहा, जेसीबी, आइचर बिक्री गरिरहेको एमएडब्लूले अहिले चिनियाँ इभी ब्रान्डको बजार आक्रामक रूपमा विस्तार गरिरहेको छ।

चांगनको डिपल र डोङफेङको नामीले बजारमा ठूलो हिस्सा बनाएका छन्। एमएडब्लूले २०२१ देखि चांगन र २०२४ देखि डोङफेङका गाडी बिक्री गर्दै आएको छ।
कम्पनीले कमर्सियल बजारमा सोकोन र फोटोन ल्याएको छ। जीपलाई ब्याकवार्डमा राखेर एमएडब्लूले नयाँ ब्रान्डमा ध्यान केन्द्रित गरेको छ। निभो, अवतार, सेरेस लगायत ब्रान्ड पनि ल्याएको एमएडब्लूले पुराना ब्रान्डलाई पनि निरन्तरता दिइरहेको छ।
यसैगरी, अर्को ग्रुप हो निशान र ड्याट्सन ब्रान्डका गाडी बिक्री गर्दै आएको शारडा ग्रुप। इभीको बजार सुरु भएपछि यो ग्रुपले पनि आफ्नो बिजनेस मोडल परिवर्तन गरेको छ। जसको परिणामस्वरूप आजको दिनसम्म आइपुग्दा यो ग्रुपसँग चेरीको ओमोडा, जेको, आइकार र क्यूक्यू ब्रान्डका गाडी छन्। यो चिनियाँ ब्रान्डतर्फ सिफ्ट हुने घरानामध्ये एक हो।
शारडा ग्रुपले अहिले ड्याट्सन गाडी ल्याउन छोडेको छ भने निसानको किनबेचलाई निरन्तरता दिइरहेको छ। यो ग्रुपले अन्य इभी ब्रान्ड ल्याउनु अगाडि निशानकै इभी ल्याएर बिक्री गरेको थियो।

यो ग्रुपले भित्र्याएका ओमोडा, जेको र आइकारले बजारमा आफ्नो स्थान बनाइसकेका छन्। यतिखेर अर्को नयाँ ब्रान्ड चेरी क्यूक्यूको नयाँ शोरुम थापाथलीमा लिपमोटरको शोरुम रहेको ठाउँमा निर्माण भइरहेको छ।
गोल्छा अर्गनाइजेसन (जीओ)ले पनि पछिल्लो समय आफ्नो अटो बिजनेसलाई विस्तार गरिरहेको छ। यो ग्रुपको जीओ अटोमोबाइल्सले फोर्ड गाडी बिक्री गर्दै आएको थियो।
केही वर्षअघि फोर्ड भारतबाट बाहिरिएपछि कम्पनीलाई अर्को ब्रान्ड आवश्यक पर्यो। नेपालमा इभीको बजार विस्तार हुँदै गएपछि कम्पनीले यतिखेर कायी र एमजी ब्रान्डका गाडी बिक्री गरिरहेको छ।

कम्पनीले सुरुवाती दिनमा कायी ब्रान्डका गाडी भित्र्याएकामा २०२६ मा आएर भारतमा निर्माण हुने एमजी ब्रान्डका गाडी ल्यान थालेको हो। यसमा इन्धन र इभी दुवै पोर्टफोलियो छ।
गोल्छा ग्रुपले बजाज र केटीएम ब्रान्डका बाइकका साथै पछिल्लो समय ट्राइम्फ बाइक र चेतक इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको छ।
विशाल ग्रुप पनि अर्को आक्रामक कम्पनी हो, जसले नयाँ नयाँ ब्रान्ड ल्याएर बजारमा बिक्री गरिरहेको छ। यो ग्रुपले सुरुमा माज्दा, सुजुकी र रेनो गाडी बिक्री गर्ने गरेकामा अहिले एमजी, ग्रेटवाल, वुलिङ, होक्छी ल्याइरहेको छ भने भिनफास्ट र निओजस्ता ब्रान्ड ल्याउने तयारी छ। कम्पनीले बिक्री गरिरहेको एमजीले नेपालमा बलियो उपस्थिति देखाएको छ।

सीजी ग्रुपअन्तर्गतको सीजी मोटर्सले चिनियाँ इभीमा ध्यान केन्द्रित गरेर अटो बजारमा हात हालेकामा एक्सपेङ, अवतार, स्मार्ट, डायुन, लोटल, बीएसी आयोन, किङलङ र जीलीको रिडारा लगायत ब्रान्ड बिक्री गरिरहेको छ।
यसैगरी सांग्रिला मोटर्सले पहिले प्युजो र सिट्रोन गाडी बिक्री गर्दै आएकामा पछिल्लो समय लिपमोटर भित्र्याइरहेको छ।
एउटै ब्रान्डमा अडिएका ५ घराना
इभीका कारण धेरै व्यापारिक घरानाले रणनीति परिवर्तन गर्दा केही घरानाले भने आफूलाई एउटै ब्रान्डमा स्थापित गरेका छन्। जसमा किया, महिन्द्रा, टाटा, सुजुकी, टोयोटा लगायत छन्।
अग्नि ग्रुपको मुख्य आधार महिन्द्रा युटिलिटी भेहिकल र ट्रयाक्टर हो। यो ग्रुपले सन् १९९१ देखि नेपालमा महिन्द्रा बिक्री गर्दै आएको छ। अहिलेसम्म चिनियाँ ब्रान्ड नल्याएको अग्नि ग्रुपले स्कुटरतर्फ भने इलेक्ट्रिक ब्रान्ड बिगस भित्र्याएको छ।
सीजी ग्रुपअन्तर्गतको सीजी मोटोकर्पले पुरानो स्थापित ब्रान्ड सुजुकी बिक्री गरिरहेको छ। कम्पनीले अहिले सुजुकीका इन्धन, हाइब्रिड र इभी तीनवटै गाडी बिक्री गरिरहेको हो।
बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले सुरुदेखि नै इभीमा केन्द्रित भइ एउटा मात्रै ब्रान्डका गाडी बिक्री गरिरहेको छ। साइमेक्स इंक पेट्रोल ब्रान्डबाट इभीमा सिफ्ट भएको होइन।

यो कम्पनीले सन् २०१३ मा बीवाइडीका ब्याट्री तथा सोलार उत्पादनबाट काम सुरु गरेर २०१६ मा बीवाइडीको गाडी नेपाल ल्याएको थियो। सुरुमा १० वटा ई६ ल्याएको साइमेक्स इंक यतिखेर नेपालमा इभी बिक्री गर्ने नम्बर वान कम्पनी बनेको छ।
टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ आफ्नो बजार हिस्सा बढाउन दुई पांग्रे बजारमा प्रवेश गरेको छ। कम्पनीले यसअघि टाटाका मात्रै गाडी बिक्री गर्दै आएकामा पछिल्लो समय ‘मेड इन नेपाल’लाई प्राथमिकतामा राख्दै यात्री स्कुटर बजारमा ल्याएको छ।

सिप्रदीसँग यतिखेर इन्धनदेखि इभीसम्म राम्रो पोर्टफोलियो छ।
यसैगरी, टोयोटा र किया जस्ता ब्रान्ड बिक्री गरिरहेका घराना पनि एउटै ब्रान्डमा अडिग भएर आफ्नो बजार हिस्सा कायम गर्न प्रतिस्पर्धा गर्दैछन्। कियासँग इभीमा विभिन्न मोडल छन्। टोयोटाको इभी भने नेपाल आइपुगेको छैन।









