अखाद्य वस्तु बेच्नेमाथि सरकार कठोर, तीन लाखसम्म जरिबाना गर्ने गरी कानुन संशोधन गरिंदै

बिजमाण्डू
२०८३ असोज ९ गते १६:०३ | Sep 25, 2026
अखाद्य वस्तु बेच्नेमाथि सरकार कठोर, तीन लाखसम्म जरिबाना गर्ने गरी कानुन संशोधन गरिंदै
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता


काठमाडौं। सरकारले खाद्यवस्तु लेबल केरमेट गरेर बेच्ने तथा म्याद गुज्रिएका वस्तु बेचेर उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्नेलाई तीन लाख रुपैयाँसम्म जरिबाना गर्ने भएको छ।

Vigo
GBIME
Tata

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजारमा अखाद्य वस्तु बिक्रीलाई निरुत्साहित गर्न भन्दै तीन लाखसम्म जरिबाना गर्ने गरी कानुन संशोधन प्रक्रिया अगाडि बढाएको छ।

मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा संशोधन ग्न विधेयकको मस्यौदा तयार पारेको छ।

ऐनको दफा ४१ मा हाल अनुगमन, निरीक्षण, जाँचबुझ आकस्मिक निरीक्षण वा खाद्य पदार्थको नमूना संकलनको काममा बाधा वा अवरोध पुर्‍याउने व्यक्तिलाई जाँचबुझ वा आकस्मिक निरीक्षण गर्ने अधिकारीले तत्काल २० हजार रुपैयाँ जरिवाना गर्न सक्ने व्यवस्था रहेकामा अब कैफियत रहेको खाद्य पदार्थ उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकलाई तीन लाखसम्म जरिबानाको व्यवस्था गर्न लागिएको हो।

स्पष्ट रुपमा देखिने गरी कुहिएको, सडेको, किरा परेको, जैविक वा अजैविक बाह्य अखाद्य पदार्थ मिसिएको, बाह्य हानिकारक तत्व मिसाइएको, दुर्गन्धित वा फोहोर ठाँउमा राखिएको वा तयार पारिएको वा अन्य कुनै कारणबाट खाद्य पदार्थको गुणस्तरमा ह्रास आउने कार्य गरिएको, उपयोग गरिसक्नु पर्ने अवधि समाप्त भएको वा सो खाद्य पदार्थमा नयाँ लेबल लगाएको र लेबल विवरणमा कुनै केरमेट, थपघट वा नबुझिने गरिएको वा मेटाएको खाद्य पदार्थ बिक्रीका लागि राखिएको अवस्थामा त्यस्ता वस्तु नष्ट गरी तीन लाख रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको हो।

अनुगमनमा बाधा पुर्‍याउनेलाई २० हजार रुपैयाँ नै जरिबाना हुनेछ।