बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले दिएको राहतको भार ऋणीमाथि, बढ्न थाल्यो आधार दर

आकाश बोगटी
२०८३ असोज ११ गते १८:४१ | Sep 27, 2026
बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले दिएको राहतको भार ऋणीमाथि, बढ्न थाल्यो आधार दर


काठमाडौं। राष्ट्र बैंकको सहुलियतसँगै बैंकहरुलाई लागत थप घटाउने ठाउँ नहुँदा आधार दर (बेसरेट) घट्ने क्रममा ब्रेक लागेको छ।

Vigo
GBIME
Tata

कर्जा लगानी सुस्त रहेर निक्षेप थुप्रिए पनि बैंकहरुलाई लागत अब घटाउने ठाँउ नहुँदा पछिल्लो तीन वर्षदेखि घट्दै आएको बेसरेट अब बढ्न थालेको छ। साउनमा ४.७२ प्रतिशत रहेको बेसरेट असोजमा बढेर ४.७५ प्रतिशत पुगेको छ। बेसरेट बढ्नु भनेको ऋण महँगिनु हो।

पछिल्लो दुई महिनामा बेसरेट थोरै माथि जानुको मुख्य कारण राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको सहुलियत हो। राष्ट्र बैंकले बेसरेटमा संचालन खर्चको थप पाँच प्रतिशत विन्दु जोड्न दिएका कारण बेसरेट थोरै बढेको बैंकरहरु बताउँछन्।

‘राष्ट्र बैंकले पहिले हामीलाई ८५ प्रतिशत खर्चलाई बेसरेटमा गणना गर्न दिएको थियो। भदौदेखि संचालन खर्चको ९० प्रतिशतसम्म खर्च बेसरेटमा सार्न पाउने सुविधा दिएको छ,’ एक बैंकका सीइओले भने,’ संचालन खर्च धेरै हुने बैंकलाई यस्तो सीमा सार्न पाउँदा राहत पुगेको छ। जसले गर्दा बेसरेट पनि थोरै माथि गएको हो।’

संचालन खर्चको थप पाँच प्रतिशत विन्दु रकम बेसरेटमा जोड्न दिएको सहुलियतका कारण पछिल्लो दुई महिनामा बैंकहरुको औसत बेसरेट ०.०३ प्रतिशत विन्दुले माथि उक्लिएको छ।

बैंकहरुलाई लागत थप घटाउने ठाउँ नहुनु भनेको बेसरेट अब तल आउँदैन भन्ने हो। ‘कर्जाको माग नबढेसम्म बेसरेट धेरै माथि नगए पनि अब तलचाहिं आउँदैन,’ ती सीइओले भने।

अहिले निक्षेपको औसत ब्याजदर ३.१५ प्रतिशतमा छ। बचत खातामा २.७३ प्रतिशत, मुद्दतीमा ४.७३ र चालु खाताको औसत ब्याजदर ०.४९ प्रतिशत छ।

बैंकहरुले ब्याजदर करिडोरको तल्लो सीमा फ्लोर रेट ब्याजदर कायम गर्न नसके अधिक रहेको तरलता राष्ट्र बैंकमा राखेर ब्याज आम्दानी गर्ने बाटो गुम्छ। त्यसकारण बैंकहरुले निक्षेपको ब्याजदर फ्लोर रेट २.७५ प्रतिशत कायम गरिरहेका छन्।

बैंकले साधारण बचत वा मुद्दती निक्षेपमा २.७५ प्रतिशत कम ब्याज दिए आफूसँग भएको बढी पैसा राष्ट्र बैंकमा राख्न पाउँदैनन्। त्यसकारण बैंकहरुले बचत र छोटो अवधिको मुद्दतीको ब्याजदर २.७५ प्रतिशतमा कायम गरिरहेका हुन्।

लामो अवधिको मुद्दतीमा ब्याज बढी नदिए निक्षेप अन्य क्षेत्रमा जाने भयका कारण बैंकहरुले फ्लोर रेटभन्दा थोरै विन्दु माथि ब्याज दिइरहेका छन्। अहिले बैंकहरुले झन्डै ९ खर्ब रुपैयाँ राष्ट्र बैंकमा २.७५ प्रतिशत ब्याजदरमा राखिरहेका छन्।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेल ब्याजदरमा धेरै उतारचढाव हुन नदिन करिडोरको व्यवस्था लागू गरेको बताउँछन्।

‘बजारमा अधिक तरलता थुप्रिएर ब्याजदर तल नझरोस् र क्रन्च हुँदा धेरै माथि नजाओस् भनेर ब्याजदर करिडोर लागू गरिएको हो,’ उनले भने, ‘तरलता धेरै हुँदा करिडोरको तल्लो सीमाको रुपमा रहेको २.७५ प्रतिशत र बढी हुँदा ५.७५ प्रतिशतभित्र राख्ने लक्ष्य राखेका छौं।’

कुन बैंकको बेसरेट कति?

वाणिज्य बैंकपछिल्लो तीन महिनाको औसत बेसरेट
(प्रतिशतमा)
राष्ट्रिय वाणिज्य४.०१
स्टान्डर्ड चार्टर्ड४.१२
एभरेष्ट४.१८
नबिल४.४१
नेपाल४.४१
नेपाल इन्भेष्टमेन्ट मेगा४.५५
ग्लोबल आइएमई४.६४
कृषि विकास४.५५
सानिमा४.७१
माछापुच्छ्रे४.९३
सिद्धार्थ४.९३
प्राइम४.८७
प्रभु४.९४
लक्ष्मी सनराइज४.९४
एनएमबि५.०१
सिटिजन्स४.९७
कुमारी४.९२
नेपाल एसबिआई५.११
हिमालयन५.०९
एनआइसी एसिया५.६९
स्रोत : बैंक तथा वित्तीय संस्था