काठमाडौं। कृष्णभीर सडकखण्ड पुनर्निर्माणको काम करिब ९० प्रतिशत सकिएको छ। नवनिर्मित २७० मिटर सडकखण्डमा कटिङ, ग्राभेलिङ र सब-सर्फेस ड्रेनेज निर्माणको काम पूरा भएको हो।
बाँकी रहेको सब-बेस निर्माणको काम बुधबार बेलुकासम्म सक्ने गरी काम भइरहेको छ। रातिको समयमा पनि कामलाई निरन्तरता दिन फ्लड लाइटको व्यवस्था गरिएको छ।
सडक निर्माणको मुख्य काम पूरा भएपछि कृष्णभीरमा यातायात संचालन सहज हुने अपेक्षा गरिएको छ। निर्माणाधीन सडकलाई अन्तिम चरणमा पुर्याउन आवश्यक काम तीव्र गतिमा अघि बढाइएको छ।
असोज १ गतेदेखि कृष्णभीर सडकखण्डमा सबै प्रकारका सवारीसाधन दुईतर्फी रूपमा संचालन गरिने भएको छ। यससँगै लामो समयदेखि प्रभावित पृथ्वी राजमार्गको यातायात व्यवस्था सहज हुने अपेक्षा गरिएको छ।











