काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल थालेका छन्।
उनले नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका प्रतिनिधि सभा सदस्य तथा विपद् प्रभावित १५ स्थानीय तहका प्रमुखलाई सिंहदरबार बोलाएर छलफल थालेका हुन्।
छलफल प्रभावित क्षेत्रमा बाढीपछिको अवस्थाबारे समीक्षा, अहिलेको परिस्थिति, अब चाल्नुपर्ने कदम र पुनरुत्थानका विषयमा केन्द्रित रहेको बालेनको सचिवालयले जनाएको छ।
छलफलमा नुवाकोटका प्रतिनिधिसभा सदस्य डा. विक्रम तिमिल्सिना र अच्युतम लामिछाने तथा नुवाकोटको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, किस्पाङ गाउँपालिकाका अध्यक्ष बीरबल तामाङ र तारकेश्वर गाउँपालिकाका अध्यक्ष शिव अधिकारी छन्।
रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्याल, कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटा र आमाछोदिङमो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ सहभागी छन्। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले अनलाइनमार्फत सहभागिता जनाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
धादिङको गल्छी गाउँपालिकाका अध्यक्ष केदारनाथ खतिवडा, सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडा, गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ र बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर थपलिया छलफलमा छन्।
यस्तै तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा र आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान तथा गोरखाको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिना छलफलमा सहभागी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।










