काठमाडौं। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा बिहानैदेखि महिला व्रतालु भक्तजनको भीड लागेको छ। भक्तजनको सहज दर्शनका लागि पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खुला गरेको थियो।
पशुपतिनाथको दर्शनका लागि भक्तजनलाई ४ छुट्टाछुट्टै मार्गबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको छ। कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार भक्तजनको आगमन हुने क्षेत्रअनुसार छुट्टाछुट्टै दर्शन मार्ग तय गरिएको छ।
मित्रपार्कतर्फबाट आउने भक्तजनका लागि उमाकुण्ड, दक्षिणामूर्ति र कैलाश बद्रीनरसिंहको भवन हुँदै मार्ग तय गरिएको छ। उक्त मार्गबाट वासुकीनाथको उत्तरतर्फको ढोका हुँदै मन्दिरको उत्तरतर्फको र्याम्पबाट दर्शन गराएर पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ।


जयवागेश्वरीतर्फबाट आउने भक्तजनका लागि पनि छुट्टै मार्ग बनाइएको छ। दथुटोल, पाचा गणेश, अन्नपूर्णभण्डार र महास्नानघर हुँदै आकासे पुलमार्फत भुवनेश्वरी र नासलचोक पुर्याएर पश्चिमतर्फबाट दर्शन गराउने व्यवस्था छ।
सिनामङ्गल र विमानस्थलतर्फबाट आउने भक्तजनलाई तिलगङ्गाको पर्यटन काउन्टरनजिकैको ढोकाबाट प्रवेश गराइनेछ। राम मन्दिर, वाग्मती किनारा र आर्यघाट हुँदै पूर्वढोकामा रहेको र्याम्पबाट दर्शन गराएर सोही ढोकाबाट फर्कने व्यवस्था मिलाइएको छ।


पिङ्गलास्थानतर्फबाट आउने भक्तजनका लागि पनि छुट्टै प्रवेश मार्ग तोकिएको छ। चार शिवालय र पञ्चदेवल वृद्धाश्रम हुँदै चौँसट्ठी कोटीलिङ्गेश्वरबाट मन्दिरको दक्षिण मुहारको दर्शन गराएर फर्कने व्यवस्था गरिएको छ।
बिहानको समयमा भक्तजनले लाममा बसेको करिब आधा घण्टामै दर्शन गर्न सक्ने अवस्था रहेको कोषले जनाएको छ। भदौरे झरी परे पनि भक्तजन लाममा बसेर पशुपतिनाथको दर्शन गरिरहेका छन्।


तीजको सुरक्षाका लागि पशुपति क्षेत्रमा ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूसँगै २४ वटा धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक पनि व्यवस्थापनमा खटिएका छन्।
भक्तजनका लागि सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा चन्दन वितरणको व्यवस्था गरिएको छ। तीजका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शिवालयमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ।


गोकर्णेश्वर, नागेश्वर र वसन्तपुरस्थित मक्खन महादेव मन्दिरमा पनि दर्शनार्थीको लाम लागेको छ। डोलेश्वर र त्रिपुरेश्वर लगायतका महादेव मन्दिरमा समेत भक्तजन पूजा तथा दर्शनका लागि पुगेका छन्।






















