काठमाडौं। सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरुलाई स्थायी आवास निर्माण नभएसम्मका लागि प्रति परिवार १५ हजार रुपैयाँका दरले आवास भाडा दिने भएको छ।
सरकारले ४ सदस्यसम्मको परिवारलाई मासिक १५ हजारका दरले आवास भाडा र अन्य आवश्यक खर्च तथा थप सदस्यका लागि २ हजार रुपैयाँ अतिरिक्त उपलब्ध गराउने भएको हो।
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले आइतबार सामाजिक सञ्जालमार्फत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेका छन्। त्यसदिन सरकारका प्रवक्ता सस्मित पोखरेलले यो निर्णयबारे जानकारी दिएका थिएनन्।
‘यदि कुनै परिवारले यो सुविधा लिन नचाहेमा, सरकारले स्थायी आवास निर्माण नभएसम्म अस्थायी आवासको व्यवस्था गर्ने विकल्प पनि उपलब्ध गराएको छ। यस सम्बन्धमा आवश्यक विवरण संकलनका लागि सबै सम्बन्धित स्थानीय तहमा फाराम पठाइसकिएको छ,’ तिमिल्सिनाले भनेका छन्।











