काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले बाढी प्रभावितहरूको उद्धार, उपचार तथा राहतका लागि २ करोड २२ लाख २२ हजार २ सय २२ सहयोग गरेको छ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा उक्त आर्थिक सहयोग जम्मा गरेको जनाएको छ। बैंकले प्रकोपबाट ज्यान गुमाएकाहरूको परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वस्थ लाभको कामना गरेको छ।
अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बैंकका अध्यक्ष प्रबल जंग पाण्डेले सहयोग रकम हस्तान्तरण गरेका हुन्। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ, शिक्षा लगायतका क्षेत्रमा सहयोग पुर्याउँदै आएको जनाउँदै बैंकले भविष्यमा समेत यस्तो सेवा र सहयोगको काममा निरन्तरता दिने जानकारी दिएको छ।
बाढीका कारण बैंकको देवीघाट शाखा कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। बैंकले तत्काल राहत पुर्याउने उद्देश्यले देवीघाटको विदुर नगरपालिका-५, नुवाकोटमा खाद्यान्न सामग्री जस्तै चामल, दाल, पिठो, बिस्कुट, तेल, नुन, सोयाबिन, आलु, चाउचाउ लगायतका सामग्री समेत सहयोग गरेको छ।











