काठमाडौं। नेपाली क्रिकेट टोली एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ। मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आइतबार सम्पन्न खेलमा साउदी अरबलाई हराउँदै नेपाल एक खेलअगावै सेमिफाइनल पुगेको थियो।
नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्दैछ। यो खेलमा पराजित भए पनि नेपालको सेमिफाइनल यात्रा रोकिने छैन। बरु, नेपालको नजर अब अर्को समूहमा छ।
यो समूहबाट यूएई, ओमन र कुवेत सेमिफाइनल पुग्ने होडमा बलियो छन्। दुवै समूहबाट दुई-दुई टोली सेमिफाइनल पुग्ने भएकाले फाइनल पुग्ने भिडन्त रोचक हुनेछ।
यो प्रतियोगिताको च्याम्पियनले एसीसी एसिया कप खेल्नेछ।
साउदीसँगको खेलमा प्लेयर अफ दी म्याच बने अलराउण्डर गुल्सन झा। उनले बलिङसँगै ब्याटिङबाट पनि योगदान गर्दै गेमलाई लक्ष्यसम्म पुर्याए।
एसीसीले जारी गरेको भिडियोमा कप्तान सन्दीप लामिछाने र गुल्सन झाले सेमिफाइनल यात्राको बारेमा संवाद गरेका छन्। जसमा गुल्सन झाले टिमले जितिरहँदा आफू खुशी भइरहेको भन्दा कप्तान लामिछानलाई सोध्छन्- कप्तानका रुपमा लगातार खेल जित्दा कस्तो लागिरहेको छ?
नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई कप्तानबाट हटाएर यसै प्रतियोगितादेखि लामिछानेलाई कप्तानको जिम्मेवारी दिएको छ। जसमा उनले तीन खेल खेल्दा तीनैवटामा टोलीलाई जिताएका छन्।
‘राम्रो भइरहेको छ, हामी सबैको। टिम मिटिङमा बनाएका योजनाहरू सफल भइरहेका छन्,’ लामिछानेले भने।
साउदीलाई हराउन महत्त्वपूर्ण योगदान दिएका गुल्सनलाई लामिछानेले प्रतियोगिता कस्तो भइरहेको छ भनेर सोध्छन्।
‘पछिल्ला दुई खेलमा अवसर पाएको थिइनँ। म पर्खिरहेको थिएँ। मेरै टिममेटले राम्रो प्रदर्शन गरेकाले मेरो पालो नआउँदा म अझ खुशी थिएँ। साउदीविरुद्ध मौका पाएँ। यसमा योगदान गर्न पाउँदा खुशी छु,’ गुल्सनले जवाफ दिए।
मलेसियामा जारी प्रतियोगितामा नेपाली क्रिकेट समर्थकहरू ठूलो संख्यामा रंगशाला गइरहेका छन्। कप्तानले सेमिफाइनलमात्र नभएर च्याम्पियन बन्दै एसिया कप खेल्ने योजना भएको बताए।
नेपालले समूह चरणमा बहराइन, मलेसिया र साउदी अरबलाई हराइसकेको छ।











