काठमाडौं। प्रहरी निरीक्षक सुमनकुमार विक बारामा खटिएका थिए। सशस्त्र प्रहरीको विपद् तालिम केन्द्रबाट तालिम प्राप्त भएकाले भदौ १० गतेको भोटेकोशी बाढीपछि उनलाई नुवाकोट पठाइयो। काठमाडौं आएर उनी १० जनाको टोली कमान्डर बनेर नुवाकोट लागे।
भदौ १४ गते विदुर-१० वेत्रावती पुगे। बाढीअघि करिब डेढ सय घर रहेको वेत्रावतीलाई बाढीले तहसनहस पारेको थियो। १५/२० वटा मात्र घर देखिन्थे, ती पनि सग्ला थिएनन्। पाँच वटा जति घरको पिलर मात्र थिए। रसुवा र नुवाकोटमा बाढीले भयावह बनाएको थियो।
सशस्त्र प्रहरीको टोली आयो, वेत्रावती हेर्यो। तत्काल उद्धार गर्ने अवस्था देखेन। ध्यान अरूतिर नै गयो। तर बेला बेलामा आवाज दिँदै कोही भए संकेत गर्न माइकिङ गर्यो।
नेपाली सेनाको टोलीले आकाशबाट हेलिकप्टरमा उद्धार र खोजी गर्यो। उनलाई पनि खासै हात लागेको थिएन। जमिन जस्तो हेलिकप्टरबाट सबै कहाँ सम्भव हुन्छ र! सशस्त्र बल र नेपाल प्रहरीले बाढीले बगाएको बाटो छिचोल्दै गाउँ-गाउँ पुगेको थियो।
क्षतविक्षत घर र घरका भग्नावशेषमा प्रहरीका उद्धार टोली पुग्थे, हेर्थे। कसैलाई भित्र भेटिन्छ कि भनेर आवाज दिन्थे। ‘हामी दैनिक आएर आवाज दिने गरेका थियौँ। कुनै संकेत मिलेको थिएन,’ सशस्त्रका प्रहरी निरीक्षक विकले भने।

घर भएको नजिकै खोला। खोला सुसाउने कारणले पनि कतिपय अवस्था सहजै सुनिने थिएन। तर ११ दिनमा सोही ठाउँमा यसरी नै प्रहरी हिँडिरहेको अवस्थामा कतैबाट उद्धार मागेको जस्तो आवाज सुनियो। निरीक्षकको कमान्डमा खटिएको टोलीले सुन्दै जाँदा विदुर-१० बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरबाट आवाज आए जस्तो भयो। घर पुरै भासिएको थियो। प्रहरीले सहजै आवाज पत्ता लगाउन सकेन। त्यसपछि केही प्राविधिक प्रयोग गरेर आवाज सुन्न खोज्यो।
‘भित्रबाट कसैले बोलाएको, बचाउ भनेको जस्तो सुनियो। हामीले निकै ध्यान दिएर। खोला सुसाउन कम भएको समय सुन्यौँ,’ निरीक्षक विकले सुनाए।
शनिबार दिउँसो पौने १ बजेको थियो। त्यसपछि तालिम प्राप्त प्रहरी खटाइयो। घरको एउटा झ्यालबाट प्रहरी छिर्यो। भित्र पुगेपछि अर्को कोठाको ढोका जस्तो भागलाई केही फुटाएर भित्र हेर्थ्यो। भित्र हेर्दा प्रहरीले ‘मिराकल’ नै देख्यो। ११ दिनपछि आधा शरीर पानी र लेदोमा भएको अवस्थामा एक महिलाको टाउको देख्यो।
जीवित मानिस देखेर टोली खुसी भयो। उनको पानी र लेदो फ्याँक्न थाल्यो। अरु प्रक्रियाबाट संरचना हटायो। नभन्दै ६० वर्षीया श्रीमती चण्डिका जीवितै उद्धार गर्न सफल भयो।
‘एकदमै खुसी लाग्यो। तालिमले हामीलाई धेरै सहयोग गर्यो। अहिले झन् आत्मबल मिलेको छ,’ निरीक्षक विकले भने।
केही दिनअघि यही घर नजिकै करिब ५० मिटरमा रहेको एक घरमा २२ जनाको शव फेला परेको थियो। जसलाई उद्धार टोलीलाई बाहिर निकालेको थियो।
११ दिनपछि श्रेष्ठको उद्धारसँगै कुनै घरभित्र कोही छन् कि भन्दै खोजी तीव्र पारिएको छ। अहिले सशस्त्र प्रहरीले यसरी नै मानिस फसेका छन् कि भन्दै खोज्दैछ। १० जनाको टोलीलाई बढाएर २० पुर्याइएको छ। स्थानीयको जानकारी लिएर खोजी गरिरहेको छ।
‘म पनि यहाँको मान्छे होइन। त्यसैले जनप्रतिनिधिहरूलाई पनि साथमा लिएर आज खोजी गरिरहेका छौँ,’ विकले भने।
सशस्त्र प्रहरीले आइतबार सोही क्षेत्रबाट सुन भएको एउटा लकर फेला पारेको छ। एक किलो सुनका विभिन्न गहना लकरभित्र भएको देखिएको छ।

विपद्को समयमा उद्धारका लागि सबैभन्दा धेरै खटिने तालिम प्राप्त सुरक्षा निकाय सशस्त्र प्रहरी बल हो। सशस्त्रले चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तालिम शिक्षालय नै चलाउँदै आएको छ। गोताखोर तालिम र उद्धारमा सशस्त्र अब्बल देखिँदै आएको छ। २०७२ को भूकम्पमा सशस्त्रकै क्षमतामा धेरै मानिसको ज्यान जोगाइएको थियो।
भोटेकोशीको बाढीमा सुरुमा सशस्त्र र नेपाल प्रहरीलाई राज्यले खासै भूमिका दिएन। नेपाली सेना नै हवाईबाट मात्र खटियो।
‘रियल रेस्क्यु भनेको हिजोको घटना हो। तालिममा लगानी गर्न सके सशस्त्र प्रहरीले विपद्मा गर्न सक्ने छ,’ पूर्व आइजी राजु अर्यालले भने।
देशमा विपद् आउँदा विपद् व्यवस्थापन तालिम शिक्षालयबाट तालिम लिएका प्रहरी खटिन इच्छुक हुन्छन्। भोटेकोशीको बाढीमा पनि खटाउने आसमा धेरै प्रहरी बसेका थिए। तर विभिन्न जिम्मेवारीको कारण खटिन पाएनन्।
‘मलाई पनि अनुभवको आधारमा खटाउला भनेर तयारी अवस्थामा थिएँ। तर अहिले तपाइँ इन्चार्ज भएकाले आउन मिल्दैन भन्ने कुरा आए। विपद्मा राम्रो अनुभव र तालिम भएको सशस्त्र नै हो,’ सशस्त्र प्रहरीका एक उच्च अधिकृतले सुनाए।
अनुभव भए पनि कतिपय अवस्था सशस्त्र प्रहरी चाहेर पनि फिल्डमा खटिन पाउँदैन। भौगोलिक अवस्थामा हेलिकप्टर नहुँदा बन्चित हुने गरेको छ। विपद्मा नै खटिने तालिम दिने विपद् व्यवस्थापन तालिम शिक्षालयमा बजेट अभाव हुँदा चाहेर पनि तालिम पाउँदैनन्। गोताखोरको तालिमका लागि आवश्यक पर्ने एक करोडको उपकरण समेत किन्ने बजेट नभएर सशस्त्र प्रहरीले जोखिम मोलेर खटिनुपर्ने अवस्था छ।
सशस्त्र प्रहरीले नागढुंगा सुरुङ बनेपछि हुनसक्ने सम्भावित जोखिमलाई ध्यान राखेर तालिम पनि दिएको थियो। तर, सरकारले खासै चासो नदिँदा अगाडि नबढेको प्रहरी अधिकृत बताउँछन्।
‘हेली चढेर गर्ने रेस्क्यु रियल होइन। सशस्त्र प्रहरीले मात्र रियल रेस्क्यु गर्दै आएको छ,’ ती अधिकृतले भने।










