काठमाडौं। विनाशकारी बाढीको ११औँ दिन नुवाकोटको वेत्रावतीबाट एक महिलाआफ्नै घरमा पुरिएको अवस्थामा जीवितै उद्धार गरिएको छ। विदुर नगरपालिका–१० वेत्रावतीस्थित आनन्द श्रेष्ठको चारतले घरको माथिल्लो तलाबाट शनिबार ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको हो।
सशस्त्र प्रहरी बल, नेपाल नं. १९ गुल्मबाट इन्स्पेक्टर सुमनकुमार बिकको कमान्डमा खटिएको नौजनाको टोलीले उनलाई उद्धार गरेको हो। दिउँसो १:३५ बजे उद्धार गरिएकी श्रेष्ठ अचेत अवस्थामा भेटिएकी थिइन्।
उद्धारपछि श्रेष्ठलाई हेलिकप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिली ब्यारेक ल्याइँदैछ। त्यहाँ प्रारम्भिक उपचारपछि आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको छ।

भोटेकोशीमा आएको बाढी र त्यसपछि आएको पहिरोले नुवाकोट, रसुवा तथा आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। विपद्को ११ दिनसम्म घरको माथिल्लो तलामा रहेकी श्रेष्ठको जीवितै उद्धार हुनुले उद्धार तथा खोजी कार्यमा अझै आशाको सम्भावना देखाएको छ।











