भोटेकोशीको बाढीपछि रसुवा जाने वैकल्पिक बाटो, १३ घण्टाको कठिन यात्रा (तस्बिरहरू)



प्रवीण रानाभाट
२०८३ भदौ १५ गते ०८:०० | Aug 31, 2026
भोटेकोशीको बाढीपछि रसुवा जाने वैकल्पिक बाटो, १३ घण्टाको कठिन यात्रा (तस्बिरहरू)


भोटेकोशी नदीमा आएको बाढीले मुख्य सडक अवरुद्ध भएपछि रसुवा जोड्ने वैकल्पिक सडक प्रयोगमा आएको छ। बाहुनबेसी-छाप-लच्याङ-सरम्थली-पार्टीखर्क-फलाखोला पुल-घिचेट हुँदै धुन्चे पुग्ने सडकबाट यात्रु र राहत सामग्री बोकेका सवारीसाधन चल्न थालेका छन्।

Vigo
GBIME
Tata

तर, वैकल्पिक सडक साँघुरो र कच्ची छ। सडक चिप्लो भएकाले सवारीसाधन सञ्चालनमा समेत समस्या भइरहेको छ।

सडकमा एकपटकमा एउटा मात्रै गाडी सहज रूपमा गुड्न सक्ने अवस्था छ। दुईतर्फबाट सवारीसाधन आएमा बाटोमै लामो जाम हुने गरेको छ।

विशेषगरी उकालोमा सवारीसाधनले पिकअप लिन नसक्दा समस्या हुने गरेको छ। राहत सामग्री बोकेका ठूला ट्रकहरू उकालो चढ्न नसकेर बाटोमै रोकिने गरेका छन्।

एउटा सवारीसाधन बिग्रिएमा पछाडि रहेका अन्य गाडी पनि रोकिनु पर्ने अवस्था छ। यसले यात्रु र राहत सामग्री बोकेका सवारीसाधनलाई घण्टौँसम्म बाटोमै कुर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

रसुवातर्फ राहत सामग्री लिएर गएका केही ट्रकसमेत उकालोमा फसेका छन्। कठिन सडकका कारण राहत सामग्री गन्तव्यसम्म पुर्‍याउनसमेत समय लागिरहेको छ।

सोमबार बिहान ११ बजे विदुरबाट हिँडेको एउटा सवारीसाधन राति करिब १ बजे मात्र धुन्चे पुगेको थियो। करिब १३ घण्टाको यात्राका क्रममा ठाउँ-ठाउँमा सवारीसाधन उकालो चढ्न नसकेर रोकिएका थिए।

मुख्य सडक अवरुद्ध भएपछि अहिले यही वैकल्पिक मार्ग रसुवा पुग्ने महत्त्वपूर्ण माध्यम बनेको छ। सडकको कठिन अवस्थाका कारण यात्रुले सावधानी अपनाउनुपर्ने अवस्था छ।