विरासत बोकेको व्यापारिक केन्द्र बेत्रावती, जहाँ अरूलाई जोगाउनेहरू नै जोगिन सकेनन्



शुक्र गिरी
२०८३ भदौ १४ गते १६:०२ | Aug 30, 2026
विरासत बोकेको व्यापारिक केन्द्र बेत्रावती, जहाँ अरूलाई जोगाउनेहरू नै जोगिन सकेनन्


विदुर। दिनभर नेपाली सेनाको क्याम्पमा मानिसहरू मलिन अनुहार लिएर यताउती गरिरहेका थिए। उनीहरू भदौ १० भेलमा हराएका आफन्तको भेटिन्छन् कि भन्ने आशामा देखिन्थे। हरेक पटक अवतरण हुने हेलिकप्टरमा उनीहरू आँखा एकोहोरिन्थ्यो। केहीको मुहार उज्यालिन्थ्यो आफन्त भेट्दा। बाँकी फेरि निराश देखिन्थे।

Vigo
GBIME
Tata

यी दृश्य राहत र उद्धारको केन्द्रको थियो। यहाँभन्दा माथिको हालत कस्तो होला अनुमान मात्र गर्न सकिने अवस्था थियो। गाउँको बाटो छिचोल्दै नुवाकोट दरबारबाट बेत्रावती पुग्दा विदुरभन्दा विभत्स दृश्य देखियो। बेत्रावतीले इतिहास बोकेको थियो जसको यतिखेर कुनै नामोनिसान बाँकी रहेन।

बेत्रावतीमा न बजार थियो न त भनेजस्तो अवस्था। चारैतिर बगरमात्र। बगरकै बीचमा कतै-कतै घरका अवशेष। सधैं चहलपहल हुने बजार माटोमा मिलिसकेको। दल-दलमा फसेका घरले यहाँ बस्ती थियो भन्ने जनाइरहेको थियो। बगरमा किनारा लागेका बडा-बडा मुडा देखिन्थे।

बगरतर्फ झर्दै गरेका एक स्थानीयले बेत्रावतीलाई अब ‘बजार’ नभन्न सुझाए।

हतास निरास देखिएका उनले भने, ‘अब बेत्रावती बजार नभन्नुस्, मसानघाट भयो यो।’

पीडा उनको मात्रै थिएन। तलतिर बगरमा आफन्त खोजिरहेका स्थानीयहरू भेटिए। बगरमा आफन्त खोज्नेहरूसँगै सुरक्षाकर्मी पनि थिए। उनीहरू ढुंगा र माटो पन्छाउँदै थिए- कोही भेटिन्छ कि!

यही बगरमा धेरैका सपना पुरिए या त बगेर कतै पुगे जसलाई अब भेट्ने आश धमिलो बन्दै गएको छ। सिंगो टोल बगर बन्यो। त्यहीँ भेटिए लेखनाथ अधिकारी। उनी पनि आफन्तको खोजीमा थिए।

बेत्रावतीको विरासतलाई नजिकबाट नियालेका उनले कुनै दिन सबैकुरा नामेट हुनेगरी बगर बन्ला भन्ने कल्पना पनि गरेका थिएनन्। बेत्रावती अर्थात् परापूर्वकालदेखिको महत्त्वपूर्ण व्यापारिक केन्द्र।

‘यो त तिब्बतसँग युद्ध गर्दाको समयदेखिकै सेन्ट्रल बजार हो। उता चीन जाने, यता धादिङ र नुवाकोट जोड्ने मुख्य व्यापारिक मार्ग,’ विगतको लाइफलाइन सम्झिँदै उनी भक्कानिए, ‘हामीले कहिल्यै कल्पना गरेका थिएनौं, नदी यति माथिसम्म आएर विनाश मच्चाउला भन्ने।’

त्रिशुली नदी यहाँभन्दा आधा किलोमिटर परै बग्थ्यो। त्यसैले सुरक्षित थियो यो बस्ती। यसपाला बाढीले २ किलोमिटर परको बस्तीसमेत आफूतिर सोहोरिदियो।

‘हामीले त यताको फलाखु खोला मात्रै आउला भन्ने सोचेका थियौँ। उता त्रिशूली यसरी पस्छ भन्ने त हाम्रा बाबुआमा र पुस्तौपुस्ताले पनि कहिल्यै देखेका थिएनन्,’ उनले भने।

डेढ सयभन्दा धेरै घर बाढीले बगायो

बेत्रावतीसहित रसुवा तटीय क्षेत्रका डेढ सयभन्दा बढी घर पूर्ण रूपमा नष्ट भएका छन्। बाढीको वेग यति शक्तिशाली थियो कि बलिया भवनसमेत बगेर टाढा पुगे।

हतास देखिएका अधिकारीका आफन्त र परिवारका सदस्यहरू बेपत्ता छन्।

‘मेरो भान्जी, भान्जीज्वाइँ, बहिनीको जेठानी र भतिजीसहित सिङ्गो परिवार नै बाढीले बगाएको छ,’ उनले दुःखेसो पोखे, ‘उता नुवाकोटतिर र १६ क्षेत्रमा पनि २०-२५ जनाभन्दा बढी मानिस बगेको खबर छ।’

एकातिर पीडा बोकेका उनीसँग थोरै भए पनि सन्तोष छ धेरैलाई जोगाउन सकेकोमा। समयमै सतर्कता अपनाउँदा सोह्र जंगलस्थित उत्तरगया एकेडेमीका धेरै विद्यार्थीको ज्यान जोगिएको छ।

अधिकारीका अनुसार बाढीको खबर पाएलगत्तै उनले विद्यालयमा फोन गरेर विद्यार्थीलाई तत्काल बिदा गर्न आग्रह गरेका रहेछन्।

‘मैले खबर पाउनेवित्तिकै स्कुलमा फोन गरेँ। सुरज सरले तुरुन्तै होस्टेलका विद्यार्थी र बसलाई सुरक्षित ठाउँमा रोकेर सबै बालबालिकाको ज्यान बचाउनुभयो,’ अधिकारीले भने।

विद्यार्थीको ज्यान जोगाउने सुरज सर भने आफैँ बाढीको चपेटामा परेको उनले बताए। यस्तै, बाढी आएको माइकिङ गर्दै धेरैजनालाई जोगाउन सफल प्रहरी जवान चाहिँ त्यही भेलमा परे।

त्यही भेटिएका रामहरि नेपालका अनुसार अझै पनि धेरै सङ्ख्यामा मानिसहरू सम्पर्कविहीन छन्। खोजतलास जारी छ।

‘असई साबले सर्वसाधारणलाई ‘भागौ भागौ’ भन्दै सचेत गराउँदा गराउँदै बाढीमा पर्नुभयो। उहाँको शव चितवनमा फेला परेको छ,’ नेपालले भने।

अहिले बाढी प्रभावित क्षेत्रमा आफन्तको खोजी र अड्केका मानिसहरूको उद्धार जारी छ। बगरमा आफन्त खोजिरहेकाहरू आशा गुमाउँदै छन्।

‘बिहानै बुबाआमालाई खोज्न जादा पुरिएको अवस्थामा एउटा भैँसी मात्रै देखेँ। मान्छे भेटिने सम्भावना नै रहेन,’ त्यहीँ एक पीडित भनिरहेका थिए।

​नुवाकोटको स्याउलेका ६५ वर्षीय इन्द्रबहादुर मगर त्यस दिनको बाढीलाई प्राकृतिक विपत्तिमात्र होइन कहालीलाग्दो सपना ठान्छन्। २०६५ सालमा माथि स्याउलेबाट झरेर बेत्रावतीमा ८ आना जग्गा किनेर उनले घर बनाएका थिए। परिवारसहित त्यही घरमा बस्दै आएका थिए उनी।

​इन्द्रबहादुर हिमालयन बैंकको ड्युटीमा पारिपट्टि थिए। अचानक बाढी पसेपछि उनी आत्तिए।

‘मेरो छोरी अनिता र नाति घरभित्रै थिए। छिमेकी आनन्द दाइले बाढी आउँदैछ भनेर खबर नगरेको भए उनीहरू जोगिने थिएनन्,’ इन्द्रबहादुरले सम्झिए।

आनन्द श्रेष्ठले समयमै सचेत त गराए तर फर्किने क्रममा उनी आफैँ भने बाढीको चपेटामा परे। ५ किलोमिटरको बाटो पार गर्न नपाउँदै ढलने घरहरूसँगै बाढीले उनलाई पनि बगायो।

​इन्द्रबहादुरको आफ्नो परिवार त सकुशल माथिल्लो ढलानबाट निस्किन सफल भयो, तर वरपरको दृश्य भने निकै दर्दनाक थियो।

‘मेरो घर त अहिले यहाँ छँदै छैन, पारिपट्टि अरूकै ढलेका घरहरू थुप्रिएका छन्। मेरो परिवार त जोगियो, तर धेरै छिमेकीहरू बगे। कसैको आमा-छोरी, कसैको फुपुहरू, त कसैको सिङ्गो परिवार नै बाढीले लग्यो।’

​करिब १२५ घरधुरी रहेको उक्त बस्ती मरुभूमिमा रुपान्तरित भएको छ।

‘बाढी आउने चेतावनी ५ मिनेट अगाडि मात्र थाहा भयो। मान्छेहरूले ठूलो बाढी आउँदैन होला भनेर हेलचेक्र्याइँ पनि गरे, कसैलाई त खोला हेर्दाहेर्दै गर्दा बाढीले लग्यो,’ उनले भने।

​अहिले इन्द्रबहादुर गाउँको पुरानो एककोठे घरमा ओत लागेर बसेका छन्। राहत र सहयोगको नाममा राज्यको उपस्थिति उनले देखेका छैनन्।

व्यक्तिगत तथा संस्थागत पहलमा केही सहयोग उनीसम्म पुगेको छ। बाटोको पहुँच खुले पनि प्रभावित क्षेत्रमा अझै बिजुली र खाद्यान्नको अभाव छ।