काठमाडौं। बाढी र पहिरोको जोखिमका कारण देशका विभिन्न मुख्य राजमार्गमा आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार काठमाडौं, इलाम, काभ्रे, मकवानपुर, रसुवा र नुवाकोटका सडकमा अवरोध तथा सवारी सञ्चालनमा रोक लगाइएको हो।
काठमाडौंको नागढुंगादेखि मुग्लिनसम्मको सडक बाढीको सम्भावित जोखिमका कारण पूर्ण रूपमा रोकिएको छ। सडकमा बाढीको जोखिम बढेपछि भदौ १० गते बिहान १० बजेदेखि सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीको विवरणमा उल्लेख छ।
इलामको इलाम नगरपालिका-९ राजदुवाली झापामा अविरल वर्षाका कारण मेची राजमार्ग अवरुद्ध भएको छ। उक्त सडक पूर्ण रूपमा बन्द भए पनि वैकल्पिक बाटोबाट आवागमन भइरहेको छ।
काभ्रेमा पनि बाढीको सम्भावित जोखिमका कारण सवारी सञ्चालनमा समय तोकेर रोक लगाइएको छ। खुकर्कोट-नेपालथोक-कडुन्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधनलाई राति ९ बजेदेखि बिहान ८ बजेसम्म रोक लगाइएको हो।
मकवानपुरमा बाढी र पहिरोको सम्भावित जोखिमलाई ध्यान दिँदै कान्तिलोकपथमा रातिको समयमा सवारी सञ्चालन रोकिएको छ। हेटौंडा-भिमफेदी-बागमती-ललितपुर सडकखण्डमा अर्को सूचना नआएसम्म राति ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
रसुवामा बाढीका कारण सडक अवस्था थप गम्भीर बनेको छ। उत्तरगया गाउँपालिका-५ खाल्टे क्षेत्रमा त्रिशूली-मैलुङ-स्याफ्रुबेसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।
रसुवाकै मुख्य राजमार्गसमेत बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको विवरणमा उल्लेख छ। सडक अवरुद्ध भएपछि उक्त क्षेत्रमा सवारी आवागमन प्रभावित भएको छ।
प्रहरीका अनुसार नुवाकोटमा बाढी र पहिरोको सम्भावित जोखिमका कारण टोखा-छहरे सडकखण्डमा रातको समयमा सवारी सञ्चालन रोकिएको छ। शिवपुरी गाउँपालिकाको घट्टेखोलामा राति ११ बजेदेखि बिहान ४ बजेसम्म सवारी रोक्ने व्यवस्था गरिएको प्रहरीले जनाएको छ।












