काठमाडौं। कामना सेवा विकास बैंकले रसुवाका बाढी प्रभावित नागरिकका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारको उद्धार र पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको हो।
बैंक सञ्चालक समितिको निर्णयअनुसार १० लाख रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको छ। थप १५ लाख रुपैयाँ बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबाट जुटाइएको हो।
बैंकले कुल २५ लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। उक्त रकम बाढी प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनामा उपयोग हुने विश्वास बैंकले लिएको छ।
बैंकले विपद् प्रभावित समुदायलाई यसअघि पनि सहयोग गर्दै आएको जनाएको छ। बैंकले मानवीय सहायता र सामाजिक हितका क्षेत्रमा आफ्नो सामाजिक उत्तरदायित्वलाई निरन्तर अघि बढाउँदै आएको छ।
बैंकले बाढी तथा अन्य प्राकृतिक विपद्का कारण ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना पनि प्रकट गरेको छ।
घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बैंकले प्रभावित नागरिकको सुरक्षित र सहज जीवनका लागि शुभेच्छा व्यक्त गरेको छ।
बाढीको कठिन समयमा उद्धार र राहतमा खटिएका सुरक्षाकर्मीप्रति बैंकले आभार व्यक्त गरेको छ। सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह, स्वयंसेवक र सहयोगी सबैप्रति पनि बैंकले कृतज्ञता जनाएको छ।










