काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवा, नुवाकोट र धादिङ लगायतका क्षेत्रमा बाढीका कारण उत्पन्न संकटमा सरकारलाई चुस्त रुपमा राहत तथा उद्धारमा जुटन आग्रह गरेका छन्।
संसदमा आज उनले विपद्का बेलामा सरकारले कसरी काम गर्छ भन्ने मापन हुने बताए। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार संख्याका आधारमा मात्रै बलियो नहुने उनको भनाइ छ।
‘सरकार बलियो भनेको संसद्को संख्याले मात्र होइन। आपत् पर्दा, अप्ठ्यारो पर्दा कति बलियोसँग, कति प्रभावकारी ढंगले सरकार पुग्दछ, त्यसका आधारमा सरकारको मापन हुनेछ,’ उनले भने।
उनले सरकारले गर्ने कामबाट आफू विश्वस्त हुने स्थिति आउने बताए।
‘मलाई विश्वास छ यो सरकारले आफूलाई मापन हुने यो कार्यमा अब्बल ढंगले आफूलाई अगाडि बढाउनेछ र नागरिकको सेवामा आफूलाई प्रस्तुत गर्नेछ। म यसमा निर्धक्क हुन चाहन्छु र सम्माननीय सदनलाई पनि त्यही अपिल गर्न चाहन्छु,’ उनले भने।
लामिछानेले नागरिकको ज्यान बचाउनु नै सरकार पहिलो प्राथमिकता हुनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै लामिछानेले आफूले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री लगायत सरकारी संयन्त्रका प्रतिनिधिहरूसँग निरन्तर संवाद गरेकाले सरकारले उद्दारमा सम्पूर्ण संयन्त्र परिचालन गर्नेमा आशावादी रहेको बताए।
‘विपद्को यो कठिन समयमा नागरिकको जीवनरक्षाभन्दा ठूलो अन्य कुनै विषय हुन सक्दैन। सरकारले सम्पूर्ण स्रोत र साधन परिचालन गरेर उद्धारमा जुट्नुपर्छ,’ उनले भने
विपद्को समयमा पक्ष-प्रतिपक्ष नभई एकै ठाउँमा उभिनुपर्ने बताउँदै उनले विपक्षी दलहरुलाई धन्यवाद दिएका छन्। उनले सम्पूर्ण राजनीतिक दलका उद्धार र राहत टोलीलाई कुनै दलीय झण्डा नबोकी देशको झण्डामुनि रहेर काम गर्न लामिछानेले अपिल गरे।










