काठमाडौं। रसुवा भोटेकोशी नदीमा आइरहेको बाढीको सम्बन्धमा गृहमन्त्री सुधन गुरुङले मनसुन प्रतिकार्य कमाण्ड पोष्टको आकस्मिक बैठक बोलाएका छन्।
गृहमन्त्रालयमा भएको बैठकमा सुरक्षा निकाय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जल तथा मौसम विज्ञान विभागका अधिकारी र प्राविधिकहरु सहभागी भएका छन्।
यसैबीच प्राधिकरणका जल विज्ञान शाखा प्रमुख विनोद पराजुलीले त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेका छन्। प्राधिकरणद्वारा जारी भिडियो सन्देशमा उनले नुवाकोट आइसकेको बाढी मुग्लिन पुग्न करिब ४ घण्टा लाग्ने पूर्वानुमान गर्दै उक्त क्षेत्रमा सबैले सतर्कता अपनाउनुपर्ने बताएका छन्।
बाढीले मर्स्याङ्दी दोभान क्षेत्रसम्म असर पर्ने प्राधिकरणले जनाएको छ।
रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढी लगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको जनाएको छ। साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको जनाइएको छ।
बाढीबाट पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडक, मुग्लिन–नारायणगढ सडकमा यात्रा नगर्न/नगराउन आग्रह समेत गरेको छ। जिल्लास्थित विपद् प्राधिकरणले सक्रियता बढाइसकेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला प्रशासनलगायतले पीडितको उद्धार तथा खोजलाई तीव्र बनाएका छन् । साथै नेपाली सेनाले पनि आफ्नोतर्फबाट उद्धार तथा खोजलाई अगाडि बढाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको जनाइएको छ।
साथै निजी कम्पनीका हेलिकप्टरहरुलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ । प्रधानमन्त्री शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।











