काठमाडौं। नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर रावल नियुक्त भएका छन्।
मन्त्रिपरिषद्को बुधबारको बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गरेको हो। गभर्नरको सिफारिसमा सरकारले डेपुटी गभर्नर नियुक्त गर्ने कानुनी व्यवस्था छ।
दुई डेपुटीमध्ये चार महिनाअघि नै किरण पण्डित नियुक्त भइसकेका छन्। लामो समयदेखि रिक्त एक पदमा रावल नियुक्त भएका हुन्। रिक्त डेपुटीमध्ये एकमा पण्डित २०८२ चैत २४ गते नियुक्त भएका थिए।
रावल केन्द्रीय बैंकका कार्यकारी निर्देशक हुन्। उनले बैंक सुपरीवेक्षण विभागमा नेतृत्व गरिरहेका छन्। उनी एक वर्षअघि कार्यकारी निर्देशक भएका थिए।
डेपुटी गभर्नरमा रावलसँगै डा. डिल्ली पोखरेलको नाम पनि सिफारिस भएको थियो।
डेपुटी गभर्नरमा नियुक्त रावलले सन् २०१९ देखि २०२४ सम्म सम्पत्ति शुद्धीकरण र आतंकवादको वित्तीय व्यवस्थापन हेर्ने फाइनान्सियल इन्टेलिजेन्स युनिटको नेतृत्व गरेका छन्। उनले राष्ट्रिय समन्वय समितिको सदस्य सचिवका रूपमा पनि काम गरेका छन्।
केन्द्रीय बैंकको करिअरको सुरुवातमा रावलले आर्थिक अनुसन्धान विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागमा रहेर काम गरेका थिए। उनले नीति तथा योजना इकाइको इन्चार्ज र नियमन समितिको सदस्य सचिवको रूपमा पनि काम गरेका छन्।
राष्ट्र बैंकमा सेवा प्रवेश गर्नुअघि रावलले नेपाल बैंक लिमिटेडमा सहायक प्रबन्धकका रुपमा काम गरेका थिए।
राष्ट्र बैंकभित्रको सवै पदोन्नतीमा रावल आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाबाट भएका थिए। सन् २०१८ मा लोकसेवा आयोगद्वारा लिइएको निर्देशक पदतर्फको प्रतिस्पर्धामा रावलले प्रथम स्थान हासिल गरेका थिए।
रावल काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा पीएचडी स्कलर हुन्। उनले अर्थशास्त्रमा स्नातकोत्तर, व्यवस्थापनमा एमबीए र समाजशास्त्रमा समेत स्नातकोत्तर हासिल गरेका छन्।
बैंकिङ क्षेत्रका दुई पुस्तकमा उनले सहलेखन गरेका छन्। रावल सामना बैंकिङ पुरस्कार २०१२ बाट पनि सम्मानित छन्।








