काठमाडौं। ग्यासको अभावका कारण विद्यार्थी र सर्वसाधारणले भोग्नुपरेको समस्याविरुद्ध नेपाल विद्यार्थी संघ त्रि-चन्द्र बहुमुखी क्याम्पस इकाइले प्रदर्शन गरेको छ।
नेविसंघले सरकारको ध्यानाकर्षण गराउँदै समस्या तत्काल समाधान गर्न माग गरेको हो।
घन्टाघरस्थित त्रि-चन्द्र बहुमुखी क्याम्पस अगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका थिए। उनीहरूले ग्यासको अभावले दैनिक जीवन प्रभावित भएको भन्दै सरकारसँग प्रश्न गरेका छन्।


परीक्षा नजिकिँदै गर्दा ग्यासका लागि लामो लाइन बस्नुपर्ने अवस्था आएको विद्यार्थीहरूको भनाइ छ। ग्यासको अभावले पढाइसँगै दैनिक जीवनसमेत प्रभावित भएको उनीहरूले बताएका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले विभिन्न पम्पलेट प्रदर्शन गरेका थिए। पम्पलेटमा लेखिएको थियो, ‘गज्जब छ बा, अनलाइन भनेको त अन-लाइन पो रहेछ?’
अर्को पम्पलेटमा भनिएको थियो, ‘परीक्षा नजिकिँदै छ, ग्यासको लाइन लम्बिँदै छ!’


विद्यार्थीहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्।
‘बलेन सरकार चुलो, समस्या समाधानमा किन यति ढिलो?’ भन्दै उनीहरूले तत्काल कदम चाल्न माग गरेका छन्।
ग्यासको अभाव लामो समयसम्म रहँदा विद्यार्थी मात्र नभई आम उपभोक्तासमेत प्रभावित भएका छन्। यस्तो अवस्थामा सरकारले आपूर्ति सहज बनाउन प्रभावकारी कदम चाल्नुपर्ने विद्यार्थीहरूको माग छ।


नेविसंघले समस्या समाधानमा ढिलाइ नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ। विद्यार्थीको दैनिक जीवन र अध्ययन प्रभावित हुने अवस्था अन्त्य गर्न तत्काल पहल आवश्यक रहेको उनीहरूको भनाइ छ।










