काठमाडौं । केही वर्षअघिसम्म कोभिड-१९ को प्रभावले सुनसान बनेका होटल, पर्यटक नपुगेर शिथिल भएका पदमार्ग र बन्दजस्तै अवस्थामा पुगेका पर्यटन व्यवसाय अहिले फेरि चलायमान बन्दै गएका छन्।
काठमाडौंको ठमेलदेखि पोखरा, चितवन, मुस्ताङ हुँदै लुम्बिनीसम्म पर्यटकको चहलपहल बढ्न थालेसँगै पर्यटन उद्योगमा नयाँ लगानीको लहर देखिन थालेको हो। यसले होटल र रिसोर्ट निर्माण मात्रै होइन, हजारौं नागरिकको रोजगारी, स्थानीय उत्पादनको बजार र समग्र अर्थतन्त्रमा नयाँ आशा जगाएको छ।
नेपालको अर्थतन्त्रमा पर्यटनलाई विदेशी मुद्रा आर्जन गर्ने प्रमुख क्षेत्रमध्ये एक मानिन्छ। यही कारण पछिल्ला महिनामा आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढेसँगै निजी क्षेत्रले पर्यटन व्यवसाय विस्तारमा चासो बढाएको छ भने सरकारले पनि पर्यटकीय पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ। सडक, पदमार्ग, पर्यटकीय स्थलको स्तरोन्नति तथा नयाँ गन्तव्यको विकासमा संघ, प्रदेश र स्थानीय सरकारको लगानी बढ्दै जाँदा निजी क्षेत्र पनि होटल, रिसोर्ट, रेष्टुरेन्ट र पर्यटन सेवामा लगानी विस्तार गर्न अग्रसर देखिएको छ।
पर्यटन क्षेत्रमा देखिएको यही सकारात्मक संकेतमा वित्तीय क्षेत्रको पनि योगदान महत्वपूर्ण छ। नेपाल राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरूले २०८३ बैशाखसम्म पर्यटन क्षेत्रमा कुल लगानी दुई खर्ब ७४ अर्ब ८१ करोड ६० लाख रुपैयाँ पुगेको छ। जसमध्ये नबिल बैंकले ३.९९ प्रतिशत अर्थात् १० अर्ब ९८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
त्यस्तै, ‘क’ वर्गका बैंकहरूले मात्रै पर्यटन क्षेत्रमा गरेको कुल कर्जा लगानी दुई खर्ब ३२ अर्ब ३५ करोड १० लाख रुपैयाँमध्ये नबिल बैंकको हिस्सा ४.७२ प्रतिशत छ।
पर्यटन उद्योगभित्र पनि होटल तथा आतिथ्य क्षेत्र लगानीको मुख्य केन्द्र बनेको छ। नबिल बैंकले मात्रै ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, रिसोर्ट, र्याफटिङ र क्याम्पिङजस्ता पर्यटन सेवामा ५४ करोड ८७ लाख रुपैयाँ तथा मनोरञ्जन, मनोरञ्जनात्मक गतिविधि र चलचित्र क्षेत्रमा २५ करोड ३८ लाख रुपैयाँ लगानी गरेको छ।
बैंकले मुलुकको पर्यटन पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ठूल ठूला पाँच तारे होटेल देखि यस क्षेत्रमा भर्खरै पाइला टेकेका प्रतिष्ठित पर्यटन व्यवसायमा कर्जा लगानी गरेको जनाएको छ।
पर्यटन तथा होटल पूर्वाधारको क्षेत्रमा बैंकको बलियो संलग्नता रहेको उल्लेख गर्दै, बैंकले प्रतिफल दिने तथा कुल गार्हस्थ्य उत्पादन र आर्थिक विकासमा योगदान पुर्याउन सहयोग गर्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवालीले बताए।
‘पर्यटन क्षेत्र नेपालको आर्थिक वृद्धि, रोजगारी र दिगो विकासको मुख्य सम्वाहक हो र यही कारण नबिल बैंकले यस क्षेत्रमा प्राथमिकताका साथ लगानी गरेको छ। यस क्षेत्रमा केन्द्रित वित्तिय उत्पादनहरुको विकासमार्फत बैंकले मुलुकको पर्यटन उद्योग उत्पादकत्व र दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने लक्ष्य राखेको छ,’ सिइओ ज्ञवालीले भने।
पर्यटनमा हुने लगानीको प्रभाव भने होटलको भवन वा कोठासम्म सीमित रहँदैन। एउटा नयाँ होटल संचालनमा आउँदा त्यसले व्यवस्थापक, रिसेप्सनिस्ट, शेफ, वेटर, सरसफाइ कर्मचारी, सुरक्षा गार्डदेखि स्थानीय किसान, तरकारी उत्पादक, दुग्ध व्यवसायी, हस्तकलाकर्मी, यातायात व्यवसायी र पर्यटन मार्गदर्शकसम्मलाई रोजगारी र आम्दानीको अवसर सिर्जना गर्छ। एउटा पर्यटकले खर्च गरेको रकम होटलबाट स्थानीय बजार, कृषि उत्पादन, यातायात, हस्तकला र सेवा क्षेत्र हुँदै स्थानीय अर्थतन्त्रमा फैलिने भएकाले पर्यटनलाई उच्च गुणक प्रभाव भएको उद्योग मानिन्छ।
नेपालका हिमाल, प्राकृतिक सम्पदा, धार्मिक तथा सांस्कृतिक गन्तव्य विश्वभर परिचित छन्। तर, ती सम्पदालाई आर्थिक अवसरमा रूपान्तरण गर्न गुणस्तरीय पूर्वाधार र सेवामा निरन्तर लगानी आवश्यक हुन्छ। पछिल्ला वर्षहरूमा बैंक तथा निजी क्षेत्रले यही आवश्यकता पहिचान गर्दै पर्यटनलाई सम्भावना भएको क्षेत्रका रूपमा हेर्न थालेका छन्।
पर्यटन उद्योग श्रममुखी भएकाले यसमा हुने प्रत्येक नयाँ लगानीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्ने क्षमता राख्छ। विशेषगरी युवालाई स्वदेशमै रोजगारीका अवसर उपलब्ध गराउन, स्थानीय उद्यमशीलतालाई प्रोत्साहन गर्न र वैदेशिक रोजगारीमा निर्भरता कम गर्न पर्यटन क्षेत्र प्रभावकारी माध्यम बन्न सक्ने देखिन्छ।
पर्यटन क्षेत्रमा बढ्दो लगानीले पर्यटन क्षेत्रमा निजी क्षेत्रको विश्वास पनि बढ्दै गएको देखाएको छ। बैंकहरूको कर्जा प्रवाह, होटल तथा रिसोर्टमा विस्तार हुँदै गएको लगानी र सरकारले अघि बढाएका पूर्वाधार आयोजनाले पर्यटन उद्योग पुनरुत्थानको चरणमा रहेको संकेत गरेका छन्।










