
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (एनएलआइसी) को प्रमुख कार्यकारी अधिकृतबाट सन्तोष प्रसाईँ बाहिरिएका छन्। उनले आइतबार दिएको राजीनामा सञ्चालक समितिले पारित गरिसकेको छ।
चार वर्षका लागि नियुक्त भएका प्रसाईँ ८ महिनामा नै बाहिरिएका हुन्। उच्च व्यवस्थापनमा आएका केही कर्मचारी र सञ्चालकहरुसँग 'फरक मत' भएपछि 'मार्ग प्रशस्त' गरेको उनले बताए।
सञ्चालक समितिका सदस्यहरुले भने प्रसाईँको सरकारी पाराले व्यापार वृद्धि हुन नसकेको बताएका छन्। उनीहरुले प्रसाईँको विकल्प ६ महिना अगाडिबाटै खोज्न थालेका थिए। प्रसाईँ नियामक बीमा समितिबाट नेपाल लाइफ आएका थिए।
उनी एक वर्ष डेपुटी प्रमुख कार्यकारी अधिकृत भए भने त्यसपछि कामु प्रमुख कार्यकारी अधिकृत भएका थिए। ८ महिनाअघि उनी प्रमुख कार्यकारी अधिकृत भएका हुन्।