काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले निजी क्षेत्रको मनोबल उकास्ने कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
उनले मंगलबार प्रतिनिधि सभाको बैठकमा बैैंकमा लगानीयोग्य रकम फालाफाल हुँदा पनि व्यवसायीले कर्जा लिन नमानेको अवस्थालाई गम्भीररुपमा लिएर सरकारले मनोबल बढाउने कार्यक्रम ल्याउनुपर्ने बताए।
उनले निजी क्षेत्रको लगानीविना ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्त नहुने भन्दै सरकारले लगानीको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने बताए।
‘हामीले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य लिएका छौं। यसका लागि राज्यको मात्र लगानीले पुग्दैन। निजी क्षेत्रको लगानी आवश्यक छ। तर, अहिले व्यवसायीमा जोखिम लिने आत्मविश्वास घटेको अनुभव गर्न सकिन्छ। त्यसलाई बुस्ट गर्न सरकारले थप सोच्न आवश्यक भएको छ,’ उनले भने, ‘सरकारले तत्काल तीन वटा काम गर्नुपर्छ। नीतिगत सुधार, लगानीको सुरक्षा र कर्जालाई उत्पादनसँग जोड्नुपर्नेछ। निजी क्षेत्रलाई कन्फिडेन्समा लिनुपर्छ।’










