अटो क्षेत्रलाई राजस्वमुखीमात्रै बनाइयो, सरकारले संवाद नगर्दा समस्या भयो : अञ्जन श्रेष्ठ



बिजमाण्डू
२०८३ साउन २६ गते ११:५७ | Aug 11, 2026
अटो क्षेत्रलाई राजस्वमुखीमात्रै बनाइयो, सरकारले संवाद नगर्दा समस्या भयो : अञ्जन श्रेष्ठ


काठमाडौं । नेपाल उद्याेग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले विगतदेखि अहिलेसम्म अटाेमाेबाइल क्षेत्रलाई राजस्वमुखी बनाइएको बताएका छन्।

Tata
GBIME

नाइमा माेबिलिटी एक्स्पाेमा सम्बाेधन गर्दै उनले सवारीलाई अत्यावश्यक साधनका रुपमा सरकारलाई बुझाउन नसकिएको बताएका हुन्।

‘२५ वर्षअघि काठमाडौंमा गाडी कति थिए? अहिले गाडीकाे संख्या बढिसक्याे तर सडक विस्तार हुन सकेकाे छैन। सरकारले कुनै पनि निर्णय गर्दा छलफल नगर्दा समस्या पर्ने गरेकाे छ,’ उनले भने।

उनले नयाँ सरकार आउने बित्तिकै केही न केही अनाैठाे निर्णय हुने परिपाटी रहेको समेत सुनाए।

‘अहिलेकाे सरकारले सार्वजनिक यातायात दर्ता बन्द गरेकाे छ,’ श्रेष्ठले भने।

कार्यक्रममा उनले व्यवसायीलाई नेपालमै एसेम्बल युनिट स्थापना गर्न आग्रह गरेका थिए। चारपांग्रेमा हुन्डाईकाे मात्रै प्लान्ट रहेकाले अरुले पनि एसेम्बल क्षेत्रमा लगानी गर्नुपर्ने उनको मत थियो।

त्यस्तै, पार्ट्स र ब्याट्रीको आयातमा देखिएका नक्कली तथा कमसल गुणस्तरका सामाग्रीहरूको नियमन गर्न भन्सार र यातायात व्यवस्था विभागले विशेष निगरानी राख्नुपर्ने उनको मत थियो।

चार्जिङ स्टेसन स्थापनामा सरकारले विशेष सुविधा र सहुलियत दिनुपर्ने तथा यातायात व्यवसायी र निजी क्षेत्रसँगको समन्वयमा रुटको वैज्ञानिक सर्वे तथा भाडादर निर्धारण गरिनुपर्ने उनले बताएका थिए।

‘विद्युतीय सवारी साधनहरुको प्रयोग बढेसँगै यसको व्यवस्थापनका लागि सरकारले निजी क्षेत्रसँग मिलेर दिगो इकोसिस्टम र चार्जिङ स्टेसनको पूर्वाधार तयार पार्नुपर्छ,’ उनले भने।