दोस्रो नाइमा मोबिलिटी एक्स्पोको कर्टेन रेजर आज, देखिनेछन् ३ दर्जन नयाँ सवारीसाधन



बिजमाण्डू
२०८३ साउन २६ गते ०६:०७ | Aug 11, 2026
दोस्रो नाइमा मोबिलिटी एक्स्पोको कर्टेन रेजर आज, देखिनेछन् ३ दर्जन नयाँ सवारीसाधन


 काठमाडौं । नेपालमा व्यवसायीहरुले आयोजना गर्ने अटो शोको इतिहास हेर्दा यसले समयसँगै आफ्नो स्वरुप परिवर्तन गर्दै गएको देखिन्छ। सुरुवाती दिनहरूमा यो केवल नयाँ गाडीहरुको प्रदर्शनी गर्ने एउटा प्लेटफर्म मात्र थियो, जहाँ गाडीका मोडल शोकेस गरिन्थ्यो।  

Tata
GBIME

तर, समय बित्दै जाँदा यसको प्रकृति बदलियो र यो एउटा महत्त्वपूर्ण व्यापारिक थलोको रूपमा स्थापित भयो। अहिले यो सवारीसाधनको बुकिङ र बिक्री गर्ने प्रमुख स्थान बनेको छ। नेपालका लागि अटो शो अब एउटा आवश्यकता बनिसकेको छ। किनकि यति ठुलो आर्थिक कारोबार हुने अन्य कुनै पनि प्रदर्शनीहरु नेपालमा पछिल्लो पटक कमै मात्रा हुने गरेका छन्।

गत वर्षदेखि त दुईवटा अटो शोहरु आयोजना भए। यो क्रम जारी रहने देखिन्छ। आजदेखि नाइमा मोबिलिटी एक्स्पो २०२६ सुरु हुँदैछ। केही दिनपछि फेरि नाडा अटो शो आयोजना हुँदैछ।

 भृकुटीमण्डपमा यतिखेर सबै स्टलहरु तयारी अवस्था राखिएका छन्। सोमबार रातभर स्टल निर्माण र गाडीहरु लोड गर्ने काम भएको थियो।

नाइमा मोबिलिटी एक्स्पो २०२६ जस्ता कार्यक्रम अहिले अटो व्यवसायीका लागि एक ‘कुम्भ मेला’ सरह भएको छ। अटो शोमा करिब १५ अर्बदेखि २० अर्ब रुपैयाँसम्मको कारोबार हुने अनुमान छ। व्यवसायीहरुले वर्षभरि गर्ने कुल बिक्रीको ३५ देखि ४० प्रतिशत कारोबार यही अटो शो अवधिमा गर्छन्। बुकिङ भएका ५० प्रतिशत सवारीसाधन बिक्री हुन्छन्।

यो पटकको नाइमा मोबिलिटी एक्स्पोमा ५३ ब्रान्डहरुको स्टल छन भने एक्स्पोमा ४० बढी नयाँ सवारीसाधन देख्न पाइनेछ। साथै पुराना रेगुलर मोडलहरु पनि देख्न पाइने आयोजकले जनाएको छ। 

गत संस्करणभन्दा एक्स्पो व्यवस्थित र प्रिमियम रुपमा सम्पन्न गर्ने लक्ष्य आयोजकको छ। नयाँ प्रविधिबारे जानकारी दिन एक्स्पोमा लर्निङ सेसन समेत रहनेछ।

कुन सवारीसाधन नयाँ हुनेछन्?

एक्स्पोमा चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीसाधनका नयाँ ब्रान्ड र मोडलको ठुलो संख्यामा देख्न पाइने भएका छन्। एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गर्ने ब्रान्डदेखि बजारमा रहेका ब्रान्डका फेसलिफ्ट तथा नयाँ पुस्ताका मोडलसम्म सार्वजनिक हुँदैछन्।

एक्स्पोमा चेरी क्यूक्यू ३ र आइकार भी२७ शोकेस हुनेछ। निसानको टेकटन, वुलिङ कम्पनीले एक्सियन एसयूभी, वुलिङ मिनी ईभी, डारियन एमपीभी र फेसलिफ्ट बिंगो नाइमामा सार्वजनिक गर्ने तयारी गरेको हो। यी गाडीहरु सबै स्टलमा देख्न पाइनेछ। 

यस्तै जीओ अटोमोबाइल्सले एमजी मेजेस्टर, महिन्द्राले एक्सईभी ९एस र होनरी बोमा ईभी एक्स्पोमा राखिनेछ।

यसैगरी, बीएआइसीको हाइब्रिड बीजे३०, आर्कफक्स ब्रान्ड नाइमा एक्स्पोबाट नेपाली बजारमा इन्ट्री गर्नेछ। यी ब्रान्डका नयाँ गाडीहरु स्टलमा देख्न सकिनेछन्। हुन्डाईको अल न्यु हुन्डाई भेन्यु, आयोनिक ९ ईभी, नयाँ केई इक्युट र क्यारीका दुई नयाँ मोडल समेत एक्स्पोमा राखिनेछ।

त्यस्तै, टाटा मोटर्सको पन्च ईभी र टियागो ईभीको फेसलिफ्ट मोडल एक्स्पोमा देखिनेछ। बिवाइडीको एटो वान, एटो टु र एटो थ्रीका अपडेटेड भर्सन एक्स्पोमा राखिनेछ।

टोयोटाका र्याप फोर हाइब्रिड इलेक्ट्रिकसहित हाइलक्स गरी दुई नयाँ मोडल, जीडब्लूएमको ओरा ५, कियाका तीन नयाँ गाडी, म्याक्ससका तीन गाडी, हेनरी भोल्ट्सका तीन तथा लीपमोटरको बी०३ एक्स नयाँ मोडल एक्स्पोमा राख्नेछ। 

त्यसैगरी, डोङफेङका नयाँ बसहरु राख्नेछ। स्काइवर्थ, किटोन ब्रान्डका नयाँ मोडल एक्स्पोमा देखिनेछन्।  

नाइमामा दुईपाङ्ग्रे सेग्मेन्टमा बजाज चेतक इलेक्ट्रिकका दुई मोडल, टीभीएसका एनटर्क १५० र आरटीएक्स ३००, कुजु नेपालले याडियाका जीएस७०, जीटी७० र जीटी८० तथा अल्ट्राभायोलेटको एक नयाँ मोडल एक्स्पोमा देख्न पाइनेछ।

त्यस्तै, मोर्बिडेलीको टी२५० एक्स, केरेनका दुई तथा ग्यारोको एक नयाँ मोडल एक्स्पोमा डिस्प्ले गर्नेछ।