काठमाडौं। विश्वका विभिन्न मुलुकमा आज विश्व आदिवासी दिवस विविध कार्यक्रम गरी मनाइएको छ।
काठमाडौंमा पनि आदिवासीहरूले साँस्कृतिक झाँकीसहित र्याली निकालेर आदिवासी दिवस मनाएका छन्। आ-आफ्नो परम्परागत भेषभूषामा सजिएका आदीवासीहरूले बाजागाजा बजाउँदै मौलिक गीतहरूसमेत गाएका थिए।


सन् १९९४ डिसेम्बर २३ मा संयुक्त राष्ट्र संघको महासभाले हरेक वर्ष अगस्ट ९ लाई विश्व आदिवासी दिवसका रूपमा मनाउने निर्णय गरेको हो। सन् १९८२ मा जेनेभामा संयुक्त राष्ट्र संघको आदिवासी जनसङ्ख्यासम्बन्धी कार्यसमूहको पहिलो बैठक अगस्ट ९ मा भएकाले सोही दिनलाई दिवसका रूपमा छनोट गरिएको हो।
राष्ट्र संघका अनुसार विश्वका ९० देशमा करिब ४७ करोड ६० लाख आदिवासी जनजाति बसोबास गर्छन्। उनीहरू विश्वको कुल जनसङ्ख्याको ६ प्रतिशतभन्दा कम भए पनि विश्वका सबैभन्दा गरिबमध्ये कम्तीमा १५ प्रतिशत आदिवासी समुदायका छन्।


उनीहरूले विश्वमा बोलिने अनुमानित ७ हजार भाषामध्ये ठूलो बहुमत भाषा बोल्छन् र करिब ५ हजार फरक संस्कृति प्रतिनिधित्व गर्छन्।
आदिवासी जनजाति समुदायले विशिष्ट संस्कृति, परम्परा तथा मानिस र प्रकृतिबीचको सम्बन्धसम्बन्धी आफ्नै ज्ञान र अभ्यासलाई पुस्तौँदेखि संरक्षण गर्दै आएका छन्। उनीहरूको सामाजिक, साँस्कृतिक, आर्थिक तथा राजनीतिक विशेषता आफू बसोबास गर्ने बहुसङ्ख्यक समुदायभन्दा पृथक छन्।


पहिचान, परम्परागत जीवनपद्धति तथा पुर्ख्यौली भूमि, क्षेत्र र प्राकृतिक स्रोतसाधनमाथिको अधिकारको मान्यताका लागि आदिवासी समुदायले लामो समयदेखि संघर्ष गर्दै आएका छन्। इतिहासका विभिन्न कालखण्डमा उनीहरूको अधिकार उल्लङ्घन हुँदै आएको र आज पनि उनीहरू विश्वका सबैभन्दा पछाडि पारिएका तथा जोखिममा रहेका समुदायमध्ये रहेको राष्ट्र संघले जनाएको छ।

















