बजारमा चिनीको भाउ बढेपछि खाद्य कम्पनीले भारतबाट ल्याउँदैछ १ हजार टन, सात दिनभित्र आइपुग्ने



बिजमाण्डू
२०८३ साउन १९ गते १७:१५ | Aug 4, 2026
बजारमा चिनीको भाउ बढेपछि खाद्य कम्पनीले भारतबाट ल्याउँदैछ १ हजार टन, सात दिनभित्र आइपुग्ने


काठमाडौं। व्यापारीहरुले बजारमा मूल्य वृद्धि गरेका कारण आफूकहाँ माग बढेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले एक हजार टन चिनी आयात गर्न लागेको छ।

Tata
GBIME

कम्पनीले भारतबाट एक हजार टन चिनी आयात गर्न लागेको हो। कम्पनीका सूचना अधिकारी माधव मिश्रले अबको एक सातासम्म चिनी नेपाल भित्रिने बताए।

बजारमा चिनीको मूल्य हाल प्रति केजी ११० देखि ११५ रुपैयाँ छ। कम्पनीले भने प्रति केजी १०० रुपैयाँका दरले चिनी बिक्री गरिरहेको छ।

बजारमा चिनीको भाउ वृद्धि भएपछि कम्पनीमा माग बढेको छ। हाल कम्पनीमा २०० क्विन्टल चिनी स्टक छ। चाडपर्व नजिकिंदै गएका कारण अब चिनीको माग बढ्छ।

सूचना अधिकारी मिश्रले स्वदेशी उद्योगले चिनी दिन नमानेका कारण भारतबाट आयात गर्न लागेको बताए। ‘स्वदेशी उद्योगसँग चिनी खरिद गर्न टेण्डर खुलाएका थिइौं। तर कुनै पनि उद्योगले टेण्डरमा भाग नै लिएनन्,’ उनले भने, ‘त्यही कारण भारत सरकारले तोकेको कोटाको चिनी किनेर ल्याउन लागेका हौं।’

कम्पनीले अहिले बिक्री गरिरहेको चिनी पनि गत वर्ष भारतबाट ल्याइएको हो।