वायुसेवा संचालक संघले भन्यो- निम्स पुर्जाको निधनले पर्यटन र पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति



बिजमाण्डू
२०८३ साउन १६ गते १७:५९ | Aug 1, 2026
वायुसेवा संचालक संघले भन्यो- निम्स पुर्जाको निधनले पर्यटन र पर्वतारोहण क्षेत्रलाई अपूरणीय क्षति
Photo: Nimsdai Purja/Facebook


काठमाडौं। वायुसेवा संचालक संघ, नेपालले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाई’को निधनले नेपालको पर्यटन र पर्वतारोहण क्षेत्रमा अपूरणीय क्षति पुगेको जनाएको छ।

Tata
GBIME

संघले शनिबार विज्ञप्ति जारी गर्दै ब्रड पिकमा हिमपहिरोमा ज्यान गुमाएका सबै आरोहीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो।

संघका अनुसार पाकिस्तानको ८ हजार ४७ मिटर अग्लो ब्रड पिक आरोहणका क्रममा गएको हिमपहिरोमा निम्स पुर्जासहित ५ नेपालीका साथै अमेरिका, ओमान, चीन, पाकिस्तान र बेलायतका आरोहीको असामयिक निधन भएको छ। संघले यस घटनाले सम्पूर्ण पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबाएको जनाएको छ।

संघले मुस्ताङ हेलिकप्टर प्रालिका अध्यक्षसमेत रहेका निम्स पुर्जालाई नेपालको गौरवशाली व्यक्तित्वका रूपमा स्मरण गरेको छ। म्याग्दीको दाना गाउँमा जन्मिएका उनले साहस, अनुशासन र कठोर मेहनतका बलमा विश्व पर्वतारोहणमा नेपालको पहिचान उचो बनाएको संघको भनाइ छ।

निम्स पुर्जाले ६ महिना ६ दिनमै विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए। उनले पर्वतारोहणका पुराना मान्यता तोड्दै नेपाली पर्वतारोहणलाई विश्वमञ्चमा नयाँ उचाइमा पुर्‍याएको संघले जनाएको छ।

संघले पुर्जाको सैन्य जीवन र अन्तर्राष्ट्रिय सम्मानको पनि स्मरण गरेको छ। असाधारण सैन्य योगदानका लागि उनले सन् २०१८ मा तत्कालीन बेलायती महारानी एलिजाबेथ द्वितीयबाट ‘एमबीई’ सम्मान तथा बेलायतको इस्टलेइ बरो काउन्सिलबाट ‘अनररी फ्रिडम अफ द बरो’ सम्मान प्राप्त गरेका थिए।

संघले निम्स पुर्जाको निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको उल्लेख गरेको छ। संघले दिवंगत सबै आरोहीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी कामना गरेको छ।