काठमाडौं। सिरहाको गोलबजारमा गत बिहीबार भएको घटनामा ज्यान गुमाएका गणेश यादवका परिवार र नेपाल सरकारबीच सातबुँदे सहमति भएको छ। शुक्रबार औरही-२ मोतिपुरमा गृह मन्त्रालयका प्रतिनिधि र मृतकका परिवारबीच भएको वार्तापछि सहमतिपत्रमा हस्ताक्षर भएसँगै पछिल्ला दिनदेखि जारी तनाव साम्य भएको छ।
सहमतिअनुसार सरकारले मृतक गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यस्तै, गोलबजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ। घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिस पनि कानुनअनुसार कार्यान्वयन गरिने सरकारको प्रतिबद्धता छ।
सहमतिअनुसार मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइनेछ। साथै, मृतकका श्रीमती र बहिनीलाई उपयुक्त रोजगारी दिलाउन पहल गरिने तथा उनका बुवाको उपचारका लागि आवश्यक सहयोग जुटाइने उल्लेख गरिएको छ।
त्यस्तै, स्थानीय सरकारसँगको समन्वयमा गाउँपालिकाको उपयुक्त स्थानमा गणेश यादवको सम्झनामा स्मृति पार्क निर्माण गर्ने र पार्कभित्र उनको शालिक स्थापना गर्ने सहमति पनि भएको छ। सहमतिपछि मृतकको अन्त्येष्टि गर्ने विषयमा समेत सहमति जुटेको छ।
दुई पक्षबीच सहमति भएपछि पछिल्ला दिनदेखि तनावग्रस्त बनेको सिरहाको अवस्था अहिले सामान्य बन्दै गएको छ। सुरक्षा व्यवस्था कायम रहेकामा गोलबजारसहित आसपासका क्षेत्रमा जनजीवन क्रमशः सहज हुँदै गएको जनाइएको छ।









