वायुसेवा प्रदायक कम्पनीको व्यापारमा छैन सुधार, यात्रु घटेपछि धमाधम उडान कटौती



प्रमिला भट्ट
२०८३ साउन १९ गते १५:४९ | Aug 4, 2026
वायुसेवा प्रदायक कम्पनीको व्यापारमा छैन सुधार, यात्रु घटेपछि धमाधम उडान कटौती


काठमाडौं। इन्धनको मूल्य वृद्धिका कारण हवाई भाडा बढाउन बाध्य भएपछि धक्का बेहोरेका वायुसेवा प्रदायक कम्पनीको व्यापारमा अझै सुधार आएको छैन। आन्तरिक उडानतर्फ वायुसेवा प्रदायक कम्पनीले चार महिनादेखि लगातार यात्रु गुमाइरहेका छन्।

Tata
GBIME

आन्तरिक उडानमा यात्रुको संख्या जुलाईमा २४ प्रतिशतले घटेको छ। हवाई इन्धनको मूल्य वृद्धिसँगै भाडा बढेकाले यात्रु घटेको वायुसेवा प्रदायक कम्पनीहरुले बताएका छन्। यात्रु घटेपछि कम्पनीहरुले उडान नै कटौती गरिरहेका छन्।

नेपाल वायुसेवा संचालक संघका अध्यक्ष प्रतापजंग पाण्डेले इन्धनको मूल्य वृद्धिसँगै हवाई भाडा महँगो हुँदा यात्रुहरुले वैकल्पिक माध्यम रोज्न थालेको बताए।

‘वर्षातको समय भए पनि यसपटक प्रमुख राजमार्ग ठूलो अवरोध बिना चलेका छन्। यसले गर्दा धेरै यात्रुले हवाई जहाजको सट्टा सस्तो मानिने सडकमार्ग रोजेको देखिन्छ,’ उनले भने।

बजारमा आर्थिक गतिविधि सुस्त हुनु, व्यापार-व्यवसाय फस्टाउन नसक्नु र सर्वसाधारणको क्रयशक्ति कमजोर हुनुको कारण पनि विमानबाट अत्यावश्यक बाहेकका यात्रा घटेको उनको बुझाइ छ।

सन् २०२५ को जुलाईको तुलनामा सन् २०२६ को जुलाईमा यात्रु संख्या २४ प्रतिशत घटेको छ। यात्रु घटेपछि वायुसेवा कम्पनीहरुले उडान कटौती गरेका छन्।

सन् २०२५ को जुलाईमा ६ हजार २६७ उडान भएकामा यस वर्ष २२ प्रतिशतले घटेर उडान संख्या ४ हजार ८५७ मा सीमित भएको छ।

त्यस्तै, सिट क्षमता २१ प्रतिशतले घटेको छ। गत वर्ष ४ लाख ३७ हजार १६६ रहेको सिट क्षमता यो वर्ष ३ लाख ४५ हजार ५५० मा झरेको छ।

संचालनमा रहेका ३ कम्पनीको औसत अकुपेन्सी २ प्रतिशतले घटेर ७८ प्रतिशतमा झरेको छ। अघिल्लो वर्ष जुलाईमा अकुपेन्सी ८० प्रतिशत थियो।

आन्तरिक उडानमा सबैभन्दा धेरै बजार हिस्सा रहेको बुद्ध एयरले पोहोर जुलाईको तुलनामा २४ प्रतिशत यात्रु गुमाएको छ। अघिल्लो वर्ष जुलाईमा २ लाख ११ हजार ८८३ यात्रुलाई सेवा दिएको बुद्ध एयरले यसपालि १ लाख ६० हजार ४६५ जनामा चित्त बुझाएको छ।

यात्रु घटेपछि बुद्ध एयरले उडान कटौती गरेको छ। पोहोर जुलाईमा ३ हजार ८२५ उडान गरेको बुद्ध एयरको उडान संख्या यसपालि २ हजार ९५६ मा झरेको छ।

कम्पनीको उडानमा अकुपेन्सी ५ प्रतिशतले घटेको छ। कम्पनीको अकुपेन्सी यो वर्ष जुलाइमा ७८ प्रतिशत छ। गत वर्ष जुलाईमा अकुपेन्सी ८२ प्रतिशत थियो।

कम्पनीका बजार निर्देशक रुपेश जोशीले पछिल्लो समय इन्धनको मूल्य बढ्दा विमानसेवा प्रदायकहरुले पनि भाडा बढाउन परेको जानकारी दिए। यही कारण यात्रुको संख्यामा पनि कमी आएको उनी बताउँछन्।

कम्पनीयात्रु संख्या (२०२५ जुलाई)यात्रु संख्या (२०२६ जुलाई)गिरावट
बुद्ध एयर२,११,८८३१,६०,४६५२४%
यती एयरलाइन्स६९,४२७५७,३२९१७%
श्री एयरलाइन्स७०,८९२४९,८५६३०%

यती एयरलाइन्सको उडानमा यात्रु संख्या १७ प्रतिशतले घटेको छ।

यतीले जुलाईमा जम्मा यो वर्ष १ हजार ६२ उडान गरेको छ। गत वर्ष जुलाईमा यो संख्या १ हजार ३१८ थियो। पोहोर जुलाईको तुलनामा यसपालि यतीको सिट क्षमता ९२ हजार २६० बाट ७४ हजार ३४० मा झरेको छ।

यतिका चिफ बिजनेस अफिसर युवराज विष्टले इन्धनको मूल्य वृद्धिले भाडा बढेका कारण यात्रुको संख्यामा कमी आएको बताए।

‘बढ्दो महँगीका कारणले गर्दा नै यात्रु संख्या घटेर हाम्रो व्यापारमा गिरावट आएको हो,’ उनले भने, ‘हामीले मात्रै नभएर अरु कम्पनीले पनि उडान कटौती गरेका छन्।’

यात्रु धेरै गुमाउनेमा श्री एयरलाइन्स छ। यो कम्पनीले पोहोरको तुलनामा यसपालि ३० प्रतिशत यात्रु गुमाएको छ। जसका कारण कम्पनीले उडान संख्या कटौती गरेको छ।

पोहोर जुलाईमा १ हजार १२४ उडान गरेको कम्पनीले यात्रु अभावमा यसपालि ८३९ पटक मात्र जहाज उडायो। कम्पनीको उडानमा अकुपेन्सी पोहोर ८० प्रतिशत रहेकामा यसपालि जुलाईमा ७९ प्रतिशत झरेको छ।

गत फागुन तेस्रो साता अमेरिका-इरान युद्धका कारण इन्धनको मूल्य अकासिएपछि महँगो भाडाका कारण आन्तरिक उडानमा यात्रुको संख्या लगातार घटिरहेको छ। यात्रु संख्या अप्रिलमा २९, मेमा ३० र जुन महिनामा ३४ प्रतिशतले घटेको थियो।