काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आन्दोलन गरेर सरकार एक दिनमै ढाल्न सकिने दाबी गरेका छन्।
उनले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा एकै दिनमा सत्ता उल्ट्याउन सकिन्छ भन्ने कुरा आफूहरुलाई सिकाउने काम भएको भन्दै त्यसका लागि कार्यकर्तालाई तयार रहन निर्देशन दिए।
‘देशभरीबाट ५/७ लाख जनता काठमाडौंमा र एक डेढ लाख सदरमुकाममा उतार्यौं भने एकै दिनमा उल्ट्याउन सकिदैंन त? यतातिर किन नसोच्ने त? नभए बर्वाद हुनसक्छ,’ उनले भने, ‘अहिले भर्खरै पार्टी एकता हुने स्थिति छैन। त्यता झमेलामा नलागौं। पहिलाको समीक्षा नगरेर हतारमा गरेर फुर्सदमा पछुताउनु हुँदैन।’
प्रचण्डले आफूहरु सत्ताको खेलमा लाग्दा अरु दलले आफ्नाविरुद्ध घेराबन्दी गरेको बताए। ‘के गरी भ्रमित गर्न सकिन्छ भनेर ठूल ठूला रणनीतिक योजना उनीहरुले बनाए छन्। बैरीहरु लागेका छन् भन्ने त थाहा पाइन्थ्यो। तर यही स्तरमा एकैदिनमा नेपाललाई नै विध्वंस पार्ने गरी लागेको थाहा पाइएन,’ उनले भने।
प्रचण्डले नयाँ पुस्तालाई स्कुलिङ गर्न नसक्दा ‘अफिम’ खुवाइएको भन्दै आफूहरुले पनि ‘अफिम’ युद्ध चलाउनुपर्ने बताए। ‘सोसल मिडियाको अफिम युद्धबाट दुरुस्त पार्न सकियो भने बलिदानी गर्ने आँट नेपाली जनताले गर्छन्,’ उनले भने।
उनले अहिलेको सरकारले सुकुम्बासीदेखि कर्मचारीका ट्रेड युनियन लगायत धेरैतिर प्रहार गरेको बताए। ‘पहिलो काम हजारौं सुकुम्बासीलाई बिचल्ली पार्नु देखियो,’ उनले भने, ‘मधेशमा पनि प्रहार भएको छ। ट्रेड युनियनमाथि पनि प्रहार भएको छ।’










