नागढुंगा सुरुङमार्गको जानकारी दिन पदयात्रासँगै दौड, साउनभित्रै सञ्चालनको तयारी



बिजमाण्डू
२०८३ साउन २ गते १६:०८ | Jul 18, 2026
नागढुंगा सुरुङमार्गको जानकारी दिन पदयात्रासँगै दौड, साउनभित्रै सञ्चालनको तयारी
तस्बिरहरू : जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)


काठमाडौं। निर्माण सम्पन्न भएर सञ्चालनको तयारीमा रहेको जनाउ दिन शनिबार नागढुंगा सुरुङमार्गमा ‘नागढुंगा टनेल रन एण्ड वाक’ गरिएको छ। सडक विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को आयोजनामा पदयात्रा र दौड आयोजना गरिएको हो।

Tata
GBIME

नागढुङ्गा सुरुङमार्गको सम्बन्धमा जनचेतना अभिवृद्धि गर्दै यसको प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो गरिएको जनाइएको छ। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले यो आयोजनाका विषयमा सर्वसाधारणलाई आवश्यक जनचेतना अभिवृद्धि गर्ने र जानकारी गराउने उद्देश्यले ‘टनेल रन एण्ड वाक’ प्रवर्द्धनात्मक कार्यक्रम गरिएको जानकारी दिए।

नागढुङ्गा-नौबिसे सुरुङमार्गअन्तर्गत २ हजार ६ सय ८८ मिटर लम्बाइको छ। सुरुआती ठेक्का सम्झौताअनुसार यो आयोजना सन् २०२३ अप्रिल २६ भित्रै सम्पन्न हुनुपर्नेमा ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण यो आयोजनाको काममा ढिलाइ भएको हो। आयोजना निर्देशक नेपालले साउनभित्रै नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने बताए।

आयोजनाका अनुसार काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने नागढुंगा-नौबिसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रेबाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन गुड्छन्।

आयोजनाका निर्देशक नेपालले नागढुंगा-नौबिसे सडकखण्डबाट भित्रिने र बाहिरिनेमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको जानकारी दिए। आयोजनाका अनुसार यो सुरुङमार्ग हुँदै दुई पाङ्ग्रे सवारीसाधन भने चलाउन पाइने छैन।