गोलभेंडाको भाउ प्रति किलो ८ रुपैयाँ, माइतीघरको सडकमा तरकारी फालेर किसानले गरे प्रदर्शन



बिजमाण्डू
२०८३ असार ३१ गते १३:४९ | Jul 15, 2026
गोलभेंडाको भाउ प्रति किलो ८ रुपैयाँ, माइतीघरको सडकमा तरकारी फालेर किसानले गरे प्रदर्शन


काठमाडौं। बर्खायाम सुरु भएपछि बजारमा गोलभेंडा लगायत हरिया तरकारीको भाउ सस्तिएको छ। भाउ धेरै घटेपछि किसानहरू आन्दोलित भएका छन्।

Tata
GBIME
Nepal Life

बुधबार माइतीघरमा किसानहरूले तरकारीको उचित मूल्य तोक्न र कृषि बीमा लागू गर्न माग गर्दै गोलभेंडा सडकमा फालेर आन्दोलन गरेका हुन्।

कालीमाटी फलफूल तथा तरकारी विकास समितिमा बुधबार लोकल गोलभेंडा न्यूनतम ८ रुपैयाँ देखि अधिकतम १२ रुपैयाँ तय भएको छ।

टनेल गोलभेंडा प्रति किलो न्यूनतम १० रुपैयाँदेखि २० रुपैयाँ छ। गत जेठसम्म थोक बजारमा प्रति किलो ८५ रुपैयाँ रहेको टनेल गोलभेंडाको भाउ अहिले ह्वात्तै घटेको हो।

साथै, ठूलो गोलभेंडा पनि प्रति किलो ३५ रुपैयाँ छ। हाल बजारमा स्वदेशी गोलभेंडाको उत्पादन बढी छ।

पछिल्लो समय बजारमा तरकारीको आपूर्ति सहज हुँदा भाउ सस्तो हुँदै गएको कालीमाटी फलफूल तथा तरकारी विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए। अहिले बजारमा पर्याप्त उत्पादन र खपत कम भएका कारण भाउ सस्तो भएको उनको भनाइ छ।

‘तरकारीको भाउ बजारले दिने हो। मागभन्दा उत्पादन बढी हुँदा भाउ घट्दै गएको हो,’ उनले भने, ‘हिजोभन्दा आज भाउ थोरै बढेको छ। बजारमा खपतको स्थिति कमजोर हुँदा भाउ सस्तो भयो। माग बढी भएको भए भाउ स्वतः महँगो हुने थियो।’

अहिले उपत्यकामा उत्पादन भएको टनेलको गोलभेंडा बजारमा आइरहेको छ। उपत्यकाको गोलभेंडा बुटवल, नारायणगढ लगायतका विभिन्न जिल्लामा जाने गरेको थियो।

वर्षाका कारण एक दुई दिनयता बाहिर ढुवानी हुन सकेको छैन। जसको प्रभाव अहिले बजारमा देखिएको श्रेष्ठले बताए।

किसान आन्दोलित भएपछि यसबारे छलफल गर्न कृषि मन्त्रालय जान लागिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए।