सञ्चारगृहमा गाडी तेर्स्याएर अवरोध गर्नु गलत, दोषीमाथि कारबाही हुनुपर्छ : मनिष झा



बिजमाण्डू
२०८३ असार ३१ गते ०८:४४ | Jul 15, 2026
सञ्चारगृहमा गाडी तेर्स्याएर अवरोध गर्नु गलत, दोषीमाथि कारबाही हुनुपर्छ : मनिष झा


काठमाडौं। सञ्चारगृह र अन्य सार्वजनिक स्थानको गेटमा गाडी राखेर अवरोध गर्ने घटनाप्रति सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कै सांसद मनिष झाले कडा असन्तुष्टि जनाएका छन्। उनले यस्तो कार्यमा संलग्न व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।

Tata
GBIME
Nepal Life

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै झाले राज्यको दायित्व नागरिकको चिन्ता र असन्तुष्टि समाधान गर्नु भएको स्पष्ट पारे। उनले राज्य आफैंले नागरिकलाई थप त्रसित बनाउने गतिविधिमा संलग्न हुन नहुने धारणा व्यक्त गरेका छन्।

झाले फेसबुकमा लेखेका छन्, ‘यस्तो बचपना देखाएर राजकाज चल्छ? के यस्तै स्तरहीन र गलत प्रयोग गर्न जेनजी सहादत भएको हो? यस किसिमको काम प्रति घोर आपत्ति छ।’

गत बिहीबार गणेश नेपालीले आत्मदाह गरेपछि सरकारको कार्यशैलीविरुद्ध देशभर तीव्र आलोचना भइरहेको छ। त्यससँगै कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीको व्यवस्थापन र त्यहाँ देखिएको समस्याले पनि सरकारमाथिको दबाब थप बढाएको छ।

शनिबारदेखि काठमाडौं उपत्यकाका मुख्य सडकमा अस्वाभाविक रूपमा सवारीसाधन पार्किङ गर्ने र फुटपाथमा पसल राख्ने गतिविधि बढेको देखिएको थियो। सोमबार भने यो गतिविधि अझ अघि बढ्दै कान्तिपुर पब्लिकेसन, अनलाइनखबर, हिमालयन टेलिभिजन लगायत सञ्चारमाध्यमका कार्यालयको गेटमै सवारीसाधन राखेर प्रवेश अवरुद्ध गर्ने प्रयास गरिएको थियो।