काठमाडौं। पूर्वअर्थमन्त्री वर्षमान पुनले विचौलियाले जस्तै सल्लाहाकारले देश चलाउन थालेको आरोप लगाएका छन्।
सार्वजनिक लेखा समितिमा राहदानी ठेक्काको विषयमा भएको छलफलमा उनले प्रधानमन्त्री र मन्त्रीभन्दा सल्लाहाकार शक्तिशाली भएर विगतमा बिचौलियाजस्तै राज्यसत्ता चलाउने काम भएको आरोप लगाएका हुन्।
‘यहाँ प्रधानमन्त्री र मन्त्री होइन सल्लाहकार पावरफुल छन्। यहाँ परराष्ट्रसचिव हुनुहुन्छ। केही बोल्न सक्नुहुन्न। बोल्यो भने प्रधानमन्त्री कार्यालयले बोलाइहाल्छ। हिजो विचौलियाले यसरीनै चलाउँथे,’ उनले भने। पुनले राहदानी ठेक्काको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई थुनिनु गम्भीर पक्ष भएको बताउँदै अदालत पनि लाचार भएको बताए।
‘संविधान कहाँ गयो ? यो मेरो आक्रोश होइन आरोप पनि होइन,’ उनले भने, ‘यति बोलेकै आधारमा हाम्रो घरमा पनि गाडी तेर्सिने र कसैले थुन्ने हो की।’ पुनले राहदानीको ठेक्का दिँदा पहिला अनियमितता भएको बताउँदै त्यही मुद्दामा मन्त्रीको छानविन समेत भएको बताए।









