काठमाडौं। मुक्तिनाथ विकास बैंकले स्वास्थ्य सेवा, स्वच्छ खानेपानी र सामुदायिक कल्याण प्रवर्धन गर्ने उद्देश्यका साथ विभिन्न स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामाजिक संस्था तथा स्थानीय तहलाई आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
बैंकले देशका विभिन्न जिल्लामा रहेका अस्पताल, स्वास्थ्य चौकी र स्थानीय तहमार्फत आवश्यकतामा रहेका नागरिकलाई सहयोग पुर्याउने लक्ष्यसहित २६ वटा ह्विलचेयर वितरण गरेको हो।
बैंकका अनुसार सल्यान जिल्ला अस्पताललाई १० वटा, त्रिवेणी गाउँपालिकाअन्तर्गत त्रिवेणी स्वास्थ्य चौकीलाई ३ वटा, मोरङको रंगेली अस्पताललाई १० वटा तथा ओमसतिया गाउँपालिका १ नम्बर वडा कार्यालयमार्फत शारीरिक रूपमा फरक क्षमता भएका र आवश्यकता भएका व्यक्तिका लागि ३ वटा ह्विलचेयर उपलब्ध गराइएको बैंकले जनाएको छ।
त्यसैगरी, बैंकले पथरी नगर अस्पताललाई ४ थान ३ सिटे कुर्सी हस्तान्तरण गरेको छ। मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरलाई ३ वटा विद्युतीय पानी डिस्पेन्सर उपलब्ध गराइएको छ।
त्यस्तै, सल्यानस्थित जनकल्याण आधारभूत विद्यालयलाई ४ वटा वाटर प्युरिफायर पनि प्रदान गरिएको छ।
बैंकले स्वास्थ्य सेवा, शिक्षा र सामाजिक समावेशीतालाई आफ्नो सामाजिक उत्तरदायित्वको प्रमुख प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तर अघि बढाउँदै आएको जनाएको छ।









