काठमाडौं। नबिल बैंकले आफू आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को युगमा बैंक प्रवेश गरेको घोषणा गरेको छ।
बैंकले स्थापनाको ४२औं वार्षिकोत्सवका अवसरमा आफू बैंकिङ इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणकारी युगमा प्रवेश गरेको बताएको हो।
वार्षिकोत्सव समारोहमा बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले एआई केवल एउटा सामान्य प्रविधि मात्र नभई यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहकको वित्तीय अनुभवलाई नै पुनःपरिभाषित गरिरहेको बताए।
‘बैंकको अबको विकासमा एआईलाई केन्द्र विन्दुमा राखिनेछ। यसले बैंकिङ सेवालाई अझ स्मार्ट र व्यक्तिगत बनाउनेछ। यसबाट द्रुत कर्जा प्रवाह, उत्कृष्ट जोखिम व्यवस्थापन, बौद्धिक ग्राहक अनुभव, व्यापक वित्तीय समावेशीकरण र मजबुत सुरक्षा प्रणालीको विकास हुनेछ,’ उनले भने, ‘प्रविधि जतिसुकै बौद्धिक बने पनि हाम्रो मूल उद्देश्य सधैं मानवीय भावना र मूल्य मान्यतासँगै जोडिनेछ। किनकि बैंकिङ केवल वित्तीय कारोबारमात्र होइन, यो सपना साकार पार्ने, उद्यमीहरूलाई सघाउने, परिवारको भविष्य निर्माण गर्ने र नेपालको समृद्धिमा योगदान दिने माध्यम हो।’
अध्यक्ष चौधरीले बैंकले सधैं परिवर्तनको नेतृत्व गर्दै आएको बताए। ‘हामीले आधुनिक बैंकिङको जग बसाल्यौं। आज नबिल बैंक नेपालको एकमात्र यस्तो वित्तीय समूह हो, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गरिरहेको छ। हामीले नवप्रवर्तन केवल अपनाउने मात्र गरेका छैनौं, यो नबिलको डीएनएमै छ,’ उनले भने।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोजकुमार ज्ञवालीले नबिल केवल बैंकिङ सेवा दिने संस्था मात्र नभइ ग्राहकका सपना, सम्भावना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार भएको बताए।
स्थापनाको वर्ष नबिलको कुल नेटवर्थ २ करोड ८० लाख र खुद नाफा १० लाख रहेकामा चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेटवर्थ ७० अर्ब ८३ करोड र खुद नाफा६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।
सुरुआती चरणमा बैंकको निक्षेप १४ करोड ६० लाख रहेकामा अहिले ५ खर्ब ८८ अर्ब ८५ करोड पुगेको छ। यस्तै कर्जा प्रवाह १३ करोड ३० लाखबाट बढेर ४ खर्ब ६४ अर्ब १० करोड पुगेको बैंकले जनाएको छ। बैंकको कुल सम्पत्ति २६ करोड ९० लाखबाट बढेर ७ खर्ब १८ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ।
२६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिंदै आएको बैंकमा हाल २,४६९ कर्मचारी कार्यरत छन्।
वार्षिकोत्सवमा ग्राहक केन्द्रित अफर
बैंकले आफ्नो ४२औं वार्षिकोत्सवका अवसरमा विभिन्न योजना सार्वजनिक गरेको छ। बैंकले ४२ दिन लामो विशेष प्रवर्धनात्मक अफर ल्याएको हो। हेटौंडा र वीरगञ्ज क्षेत्रमा सडक विस्तारका कारण प्रभावित भएकाहरूका लागि लक्षित गरी बैंकले आधारदरमा मात्र ०.५ प्रतिशत प्रिमियम ब्याजदर थप गरी सहुलियतपूर्ण घर कर्जा योजना ल्याएको छ।
यस्तै लकर सेक्युरिटी डिपोजिट, क्रेडिट कार्ड, डेबिट कार्ड र इलेक्ट्रोनिक पेमेन्ट गेटवे (इपिजी) जस्ता सेवा लिन चाहने ग्राहकका लागि बैंकले विशेष योजना ल्याएको छ।
लकर सेक्युरिटी डिपोजिट सुविधा लिन चाहने ग्राहकले ४२ प्रतिशत र इपिजी सेवा लिन चाहने ग्राहकले १५ हजार रुपैयाँको इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट पाउने बैंकले जनाएको छ।
क्रेडिट कार्डका लागि आवेदन दिने ग्राहकले आवेदन शुल्क र एक वर्षको सदस्यता शुल्कमा पनि छुट पाउनेछन्।










