काठमाडौं। ‘नाडा अटो शो २०२६’का लागि आइतबार गोला प्रथामार्फत स्टल बाँडफाँट गरिएको छ।
गत महिना स्टल दर्ता खुला गरिएकोमा आइतबार गोला प्रथामार्फत सहभागी कम्पनीहरूलाई स्टल बाँडिएको हो।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) सचिवालयमा आयोजित कार्यक्रममा नाडाका अध्यक्ष सुरेश उप्रेती, निवर्तमान अध्यक्ष करण चौधरी, पदाधिकारी, केन्द्रीय कार्यसमितिका सदस्य तथा सहभागी कम्पनीका प्रतिनिधिहरू उपस्थित थिए।
गोला प्रथाबाट १९ वटा प्यासेन्जर भेहिकल ब्रान्ड, १० वटा दुईपांग्रे, १७ वटा लाइट कमर्सियल भेहिकल तथा ७६ वटा साना स्टलमध्ये ४५ वटा अटो कम्पोनेन्ट्स कम्पनीलाई स्टल बाँडिएको छ।
नाडाले यस वर्ष आगामी २०८३ भदौ ९ देखि १४ गतेसम्म अटो शो आयोजना गर्ने तयारी गरिरहेको छ। सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न संस्था र व्यवसायको सहभागिता रहने यो प्रदर्शनी नाडा अटो शोको १८औँ संस्करण हुनेछ।











